- विगतमा ५५ लाखसम्मका बजेट चलाएका वडाहरूलाई यसपटक समान १० लाखको कार्यक्रम बनाउन परिपत्र भएपछि वडाध्यक्षहरू असन्तुष्ट
धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट निर्माण गर्न सबै वडालाई १० लाख रुपैयाँको सिलिङ पठाएको छ । नगरपालिकाभित्र रहेका १० वटा वडालाई १० लाखका दरले कुल एक करोडको योजना पठाउन परिपत्र भएको हो ।
आर्थिक, सामाजिक र पूर्वाधार विकास तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रका साथै वन तथा वातावरण क्षेत्रमा खर्च गर्ने कार्यक्रम बनाएर बजेट राख्न नगरपालिकाले परिपत्र गरेको छ । चालू आव ०८२/८३ मा भने धनकुटाका वडाहरूले ५५ लाख रुपैयाँका दर सिलिङ पाएका थिए । तर, यसपटक ठुलो दरले सिलिङ घटाएर कार्यक्रम प्रस्ताव गर्न निर्देशन दिइएको छ । ‘संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणको बजेट सिलिङ र मार्गनिर्देश तथा विगत वर्षहरूमा भएको स्रोत परिचालनको अवस्थालाई मध्यनजर गरी वडास्तरमा सहभागितात्मक योजना तर्जुमा प्रक्रिया अवलम्बन गर्दै आर्थिक वर्ष ०८३/८४ का लागि योजना छनोट गर्न धनकुटा नगरपालिकाबाट वडालाई निम्नानुसार वडास्तरीय बजेट सिलिङ साथै मार्गनिर्देश तयार गरी पठाइएको’ नगरपालिकाद्वारा वडाहरूलाई पठाइएको पत्रमा भनिएको छ ।
नगरपालिकाले उक्त मार्गनिर्देश र बजेट सिलिङको सीमाभित्र रही कार्यक्रम तथा बजेट तयार गरी संलग्न समयसीमाभित्र पेस गर्न पनि निर्देशन दिएको छ । विगतमा वडाको आकार र कार्यक्षेत्रका आधारमा बजेट पाउँदै आए पनि यसपटक समान १० लाख रुपैयाँको सिलिङ तोकिएका कारण जनताको काम गर्नै नसकिने अवस्था आएको धनकुटा नगरपालिका– ६ का वडाध्यक्ष मिलन खड्गीले बताए । ‘जनताका अपेक्षा धेरै छन् । यति बजेटले त जनताको काम गर्न सक्ने अवस्था नै भएन,’ वडाध्यक्ष खड्गीले भने ।
धनकुटा नगरपालिका– ४ ले गत वर्ष ४० लाख बजेट पाएको थियो । तर, यो वर्ष १० लाख रुपैयाँ मात्रै पाउने भएको छ । नगरपालिकाले वडाहरूलाई १० लाख रुपैयाँको सिलिङ तोके पनि सञ्चालन तथा विविध खर्च शीर्षकमा थप चार लाख ६८ हजार उपलब्ध गराउने जनाएको छ । आन्तरिक आय भने न्यून हुने गरेको छ ।
धनकुटा नगरपालिकाले चालू आवमा एक अर्ब १२ करोड २५ लाख २२ हजार सात सय ३० रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको थियो । तर, संघ र प्रदेशले बजेट घटाएपछि धेरैजसो योजनाहरूको रकम निकासा ‘दायित्व’मा सर्ने गरेको छ । सोही कारण यो वर्ष बजेटको सिलिङ घटाउनुपरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।