बिमा दाबी गर्न एक करोड ४७ लाखको ‘चोरीको नाटक’

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

बिमा दाबी गर्न एक करोड ४७ लाखको ‘चोरी घटना रचिएको’ अनुसन्धानबाट खुलेपछि पसलका सञ्चालक नै पक्राउ परेका छन्। यही जेठ १७ गते बुटवलमा सुन पसलमा लाखौँको चोरी भएको भनिएको घटना बिमा दाबी गर्न घटाइएको तथ्य खुलेको प्रहरीले जनाएको छ । 

बुटवल उपमहानगरपालिका– ५, अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’का सञ्चालक दीपक विक र कर्मचारी तिलोत्तमा नगरपालिका– वनवाटिकाका नवीन विकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवका अनुसार सञ्चालक विकले आफू पोखरामा रहेको वेला यही जेठ १७ गते बिहान आफ्नो पसलबाट एक करोड ४६ लाख ९४ हजार सात सय रुपैयाँबराबरका सुनचाँदीका गहना चोरी भएको बताएका थिए ।

तर, प्रहरीको अनुसन्धानमा उक्त घटना वास्तविक चोरी नभई बिमा दाबी गर्न योजनाबद्ध रूपमा रचिएको नाटक भएको खुलेको छ । प्रहरी अनुसन्धानअनुसार बिमा रकम दाबी गर्ने तथा अन्य मानिसहरूले पसलमा राख्न दिएको सुन र नगद फिर्ता गर्न नपर्ने सोची योजनाबद्ध रूपमा चोरीको नाटक गरी झुटो चोरीको घटना सिर्जना गरिएको खुलेको छ । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रदेश प्रहरी कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले दुवैजनालाई पक्राउ गरी आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार