निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एमालेबाट ०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित आठजना जनप्रतिनिधिले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको सूचना प्रकाशित गरेको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमाले केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपिसहित प्राप्त जानकारीका आधारमा मिति ०८३ जेठ २६ गते उक्त निर्णय गरेको जनाएको छ।
आयोगका अनुसार पद रिक्त हुने जनप्रतिनिधिहरूमा ८ जना वडाध्यक्ष रहेका छन्। पद रिक्त हुनेहरूमा ओखलढुंगाको मोलुङ गाउँपालिका– १ का वडाध्यक्ष कमलबहादुर बानियाँ, वडा नम्बर ६ का वडाध्यक्ष कमल तामाङ तथा चम्पादेवी गाउँपालिका– ७ का वडाध्यक्ष सुरेशकुमार थापा रहेका छन्।
त्यसैगरी पाल्पाको माथागढी गाउँपालिका– १ का वडाध्यक्ष राजकुमार पन्थी, ललितपुरको बागमती गाउँपालिका– ७ का वडाध्यक्ष होमप्रसाद बजगाईं र दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन शर्मा पनि पदमुक्त भएका छन्।
यस्तै, मोरङको लेटाङ नगरपालिका– ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ तथा रंगेली नगरपालिका– १ का वडाध्यक्ष महेशकुमार खनालको पदसमेत रिक्त भएको आयोगले जनाएको छ।
आयोगले सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले उक्त सूचना सार्वजनिक गरेको जनाएको छ। दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि कानुनी व्यवस्थाअनुसार जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ।