सरकारको प्राथमिकतामा छिमेक सम्बन्ध, चीन जाँदै परराष्ट्रमन्त्री खनाल

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

भारतको औपचारिक भ्रमणबाट फर्केको एक सातापछि परराष्ट्रमन्त्री शिशिर खनाल उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले ३१ जेठदेखि ३ असारसम्म खनालले चीन भ्रमण गर्ने गरी तयारी गरेको छ । भ्रमणको मिति र कार्यतालिकाबारे नेपाल र चीन दुवैले सार्वजनिक गर्न बाँकी छ ।

कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री खनाल ३१ जेठ (१४ जुन)मा चीन जानेछन् । चिनियाँ समकक्षी एवं चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ यीको औपचारिक निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबिच बेइजिङमा द्विपक्षीय औपचारिक वार्ता हुनेछ । खनालले चिनियाँ कम्युनिस्ट पार्टीका केही शीर्ष नेता, बेइजिङस्थित अनुसन्धान तथा अन्वेषणसँग सम्बन्धित ख्यातिप्राप्त संस्थाका प्रतिनिधिलगायतसँग पनि भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणबारे प्रतिक्रिया दिएनन् । ‘यस विषयमा उपयुक्त समयमा परराष्ट्र मन्त्रालयले जानकारी दिनेछ,’ उनले भने । परराष्ट्रले केही दिनमा भ्रमणतालिका सार्वजनिक गर्ने एक अधिकारीले बताए । गत वर्षको जेन–जी आन्दोलनपछि भएको चुनावसँगै १३ चैतमा नयाँ सरकार गठन भएपछि नेपाल र चीनबिच उच्च राजनीतिक तहमा पहिलोपटक संवाद हुन लागेको हो । परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षी वाङले बधाई सन्देशसँगै निमन्त्रणा पठाएका थिए । स्रोतका अनुसार परराष्ट्रमन्त्री खनालले चिनियाँ नेतृत्वलाई वर्तमान सरकारले विगतमा चीनसँग गरेका सबै सहमतिप्रति प्रतबिद्धता जनाउनेछन् भने नेपालमा चीनको सुरक्षा चासो सम्बोधन गर्ने पुनः प्रतिबद्धता दोहोर्याउनेछन् । ‘वर्तमान सरकारप्रति विभिन्न टीकाटिप्पणी भइरहेका सन्दर्भमा हामी चीन सरकारलाई आश्वस्त पार्नेछौँ । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध हुने, चीनका संवेदनशील राजनीतिक मुद्दा (तिब्बत, ताइवान)मा यसअघिका सरकारहरूको नीतिको निरन्तरता रहने तथा नयाँ सरकारले चीनसँग आर्थिक विकास तथा साझेदारीमा सहकार्य गर्ने चाहना राख्नेछ । भारतसँग जस्तै चीनसँग पनि नेपालको पूर्वाधार, कृषि, पर्यटन, जलविद्युत्लगायत विकासका प्रक्रियामा सघन सहकार्य गर्ने चाहना राख्नेछौँ,’ मन्त्रालयका एक कर्मचारीले भने । अहिले परियोजनाहरूको सूचीभन्दा पनि चीनसँग साझेदारीका प्राथमिकताक्रमबारे छलफल गर्ने गरी तयारी भएको परराष्ट्र स्रोतले जनाएको छ ।

नेपाल र चीनका कूटनीतिक अधिकारीबिच १९ जेठमा काठमाडौंमा भएको बैठकमा नेपालमा चिनियाँ अनुदान एवं लगानीका परियोजनाको अवस्थाबारे समीक्षा भएको थियो । केरुङ–काठमाडौं रेलमार्ग, नेपालबाट चीनतर्फ निर्यात गर्ने प्रशोधित राँगाको मासु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बोनम्यारो प्रत्यारोपण सेवा, रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मको सडक स्तरोन्नति, नेपाल–चीन सीमापार विद्युत् प्रसारण लाइन, अरनिको राजमार्ग स्तरोन्नति, काठमाडौंको चक्रपथ विस्तार, कोरला नाका र किमाथांका नाकामा पूर्वाधार निर्माणलगायत विषयमा छलफल भएको थियो । परराष्ट्रसचिव अमृतबहादुर राई र चिनियाँ राजदूत झाङ माओमिङले आ–आफ्नो पक्षको नेतृत्व गरेको बैठकमा बिआरआईअन्तर्गत सूचीकृत परियोजनाबारे पनि छलफल भएको थियो ।

सुझावित समाचार