बर्दियामा ढुंगा,गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ। बारबर्दिया नगरपालिका- २, कुमराघाटमा अवैध उत्खनन हुँदै आएको छ।
मधुवन नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने कुमराघाट नदीमा अवैध रूपमा नदीजन्य उत्खनन भइरहेको खबर प्राप्त भएपछि संयुक्त अनुगमनका लागि गएको बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारूले बताए। उनले भने, ‘नदीमा पाँच फिटसम्म खनेर नदीजन्य पदार्थ उत्खनन गरेको पाइयो। जहाँ नदी उत्खनन गरिएको छ, त्यहाँ पालिकाले नदीजन्य पदार्थ बिक्री-वितरण गरेको छैन।’
पालिकाले नदीजन्य पदार्थ उत्खनन भएको बारेमा जानकारी पाएपछि नगर प्रहरी पठाएको थियो। त्यहाँ नगर प्रहरी पुग्दा नदीजन्य पदार्थ लोड गरेको गाडी भागेको नगर प्रमुख थारूले बताए। उनले भने, ‘पालिकाको कार्यपालिकासहित संयुक्त अनुगमन आएर मुचुल्का तयार पारेका छौँ। नदी उत्खनन गरेर नदीजन्य पदार्थ चोरी गर्नेलाई कारबाहीको दायरा ल्याइनेछ।’
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले स्थलगत अनुगमन जाँदा नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको बताए। उनले भने, ‘नदीबाट नदीजन्य पदार्थ उत्खनन गरेको बारेमा खोजतलास गरी दोषी पहिचान गरेर कानुनी कारबाहीको दायरा ल्याउनेछ।’
अनुगमन समितिका पदाधिकारी जनप्रतिनिधि, कर्मचारी र स्थानीयले संयुक्त रूपमा अनुगमन गरेको थियो भने स्थलगत अनुगमनका क्रममा स्वीकृत मापदण्ड र नियमावलीविपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको हुँदा कानुनी कारबाही गर्नका लागि अगाडि बढ्नुपर्नेमा अनुगमनमा सहभागीहरूले जोड दिएका थिए।
सहभागीहरूले मापदण्डविपरीत भएको उत्खननले नदीको प्राकृतिक संरचना, वातावरण तथा स्थानीय बासिन्दाको सुरक्षामा असर पुग्ने भएकाले दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन्। अनुगमन टोलीले छिट्टै विस्तृत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्ने जनाएको छ।
राजापुर नगरपालिकामा अवैध रूपमा ढुंगा, गिट्टी उत्खनन गरेकाे भन्दै जेठ १८ गते इलाका प्रहरी कार्यालय राजापुरले भे१ क ५५६ नम्बरको जेसिबीको, त्यसैगरी भे १ त ८८८२, लु २ त ९००९ , भे १ त ११३१ र नम्बर नराखिएको नयाँ ट्याक्टर र सु.प. प्र.१००१ क २९३३, ना ७ ख २४४६ को टिपरबाट पक्राउ गरी एक लाख १८ हजार रुपैयाँ जरिवाना गराएको थियो।