दरबार हत्याकाण्डको आयोगमार्फत छानबिन कि प्रहरीबाट अनुसन्धान ?

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

गृह मन्त्रालयमा पुनरागमन गरेका सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेपछि धेरैको ध्यान खिचेको छ। २५ वर्षअघिको सो घटनाको हाल सत्यतथ्य पत्ता लगाउन सहज छैन। 

सो घटनाको विषयमा स्वतन्त्र समिति वा आयोगमार्फत छानबिन गर्ने वा प्रहरीबाटै अनुसन्धान गर्ने भन्ने विषय प्रस्ट भइसकेको छैन। तर, प्रहरीबाट अनुसन्धान गर्न भने कानुनी झमेला छ। 
मुलुकी अपराध संहिताअनुसार अभियुक्त नखुलेको ज्यानसम्बन्धी कसुर मुद्दाको हदम्याद २० वर्षको हुन्छ। दरबार हत्याकाण्डको २५ वर्ष नाघिसकेको छ। अर्काेतर्फ सो घटनाको मुचुल्कादेखि जाहेरी दर्ता तथा पोस्टमार्टमसमेत भएको छैन। जसकारण अहिले फेरि प्रहरीबाट ज्यान मुद्दामै अनुसन्धान गर्न भने कठिन हुने प्रहरी अधिकारी बताउँछन्। 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले हाल सो घटनाको पुनः छानबिन गर्ने भनेर नीतिगत निर्णय गरिएको र कसरी गर्ने भन्ने विषयमा बुधबार तय हुने बताउँछन् । 

१९ जेठ २०५८ मा नाराणहिटी दरबारमा भएको गोली प्रहारबाट तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित १० जनाको मृत्यु भएको थियो। कसले र कसरी सो हत्याकाण्ड भयो भन्नेमा अझैसम्म पनि रहस्यमय छ। 

सुझावित समाचार