नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबिच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनर्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
रणनीतिक साझेदारीअन्तर्गत नबिल बैंकले नेपालभरि जलनका बिरामीहरूको सघन उपचार, कृत्रिम अंग जडान र डायलाइसिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरूमा पनि यस्तै सुविधाहरू विस्तार गरिनेछ।
यसका साथै बैंकले दुईवटा कृत्रिम अंग जडान तथा पुनर्स्थापना सेवा इकाइहरू स्थापना गर्न र डायलाइसिस सेवाहरूलाई थप सुदृढ बनाउन पनि सहयोग गरेको हो। सम्झौता तीन वर्षसम्म लागू हुने बैंकले जनाएको छ।