प्रधानमन्त्रीले नेपाललाई ‘सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न खोजे : सांसद राई

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाललाई ‘सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद राईले  प्रधानमन्त्रीलाई आत्मालोचना गर्न र माफी माग्नुपर्ने माग गरेका छन्।

उनले भने, ‘हामीले लगातार यस सम्मानित सदनमा ‘नेपाल सीमा अतिक्रमणकारी देश होइन’ भनेर प्रमाणित गर्न खोजिरहेका छौँ। प्रधानमन्त्रीज्यूले स्वयं उपस्थित भएर आफ्नो अभिव्यक्तिको आत्मालोचना गर्नुपर्छ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले भारतको जमिन मिचेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ। सामाजिक सञ्जालमा पनि उहाँका शुभचिन्तकहरूले नभएका प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर देखाउने प्रयास गरिरहेका छन्,’ राईले भने ।

प्रधानमन्त्रीको यस्तो गतिविधिले राष्ट्रको छवि कमजोर बनाउने भन्दै राईले याे तहको राष्ट्रघात गर्न किन मन लागेको हो ? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण हुँदै छ ?’ भनेर प्रश्न गरे । 

प्रधानमन्त्रीले जेठ १७ गते संसद्को रोस्टमबाट नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको संकेत गर्ने अभिव्यक्ति दिएका थिए।

सुझावित समाचार