नेपाल सरकारका पूर्वस्वास्थ्यसचिव डा. रोशन पोखरेललाई ३ प्रश्न

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

थप भएका ९७७ दरबन्दीपछि स्वास्थ्य सेवामा जनशक्ति पर्याप्त हुन्छ त ?
अहिले थपिएको जनशक्तिको माग हाम्रै पालामा भएको थियो । हामीले त अलि धेरै नै माग गरेका थियौँ । तर, थोरै नै भए पनि बल्ल पास भयो । यो केन्द्रीय अस्पतालको दरबन्दी मात्र हो । अझै प्रदेश र स्थानीय अस्पतालको दरबन्दी कहिले थप हुने हो, टुंगो छैन । थपिएको नयाँ दरबन्दी पर्याप्त हुने भन्ने त कुरै भएन । तर, यसबाट बिरामीको फ्लो बढेका केन्द्रीय अस्पतालमा भिड कम गर्न भने केही सहज हुनेछ । 

स्वास्थ्यजस्तो संवेदनशील सेवामा दरबन्दी थप्न किन ३५ वर्ष कुर्नुपरेको होला ?
हाम्रो देशमा शिक्षा र स्वास्थ्य सेवा जहिल्यै उपेक्षामा पर्दै आए । शिक्षाको दरबन्दीमा केही हदसम्म सुधार भए पनि स्वास्थ्य सेवाको दरबन्दीमा भने सुधार हुन सकेको थिएन । आर्थिक स्रोतको व्यवस्थापन नै यसको मुख्य समस्या हो । कि त राज्यले अस्पताललाई आफैँ कमाऊ र खाऊ भन्न सक्नुपर्यो । तर, यसो भनियो भने स्वास्थ्य सेवा महँगो भएर नागरिकको पहुँचबाहिर पुग्न सक्छ । त्यसैले, यस्तो पनि भन्न मिल्दैन । यस्तोमा सायद आर्थिक स्रोतको व्यवस्थापनमा देखिएको समस्याले गर्दा नै दरबन्दी थप्न यति लामो समय कुर्नुपरेको हो ।

जनसंख्या र जनशक्तिबिचको खाडललाई स्वास्थ्य सेवाले कसरी व्यवस्थापन गर्न सक्ला त ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को ‘प्राक्टिस’ हेर्ने हो भने हाम्रो जनसंख्या र स्वास्थ्य सेवाका जनशक्तिबिच तालमेल नदेखिएला । तर, हाम्रो जस्तो देशमा डब्लुएचओको प्राक्टिसलाई हेरेर मात्र पनि चल्दैन । खासमा स्वास्थ्य सेवाका जनशक्तिलाई काठमाडौंबाहिर दुर्गम क्षेत्रमा पठाउँदा उसको ‘लङटर्म करिअर’को सुनिश्चितता गरिदिनुपर्छ । भएकै जनशक्तिलाई उपयुक्त प्रक्रिया अपनाएर परिचालन गर्न सकियो भने त्यस्तो खाडललाई व्यवस्थापन गर्न सकिन्छ । 

सुझावित समाचार