एकचौथाइ फौजदारी मुद्दा लागुऔषध कसुरका

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण
  • अहिलेसम्म मुलुकभरका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित २०,७०८ मुद्दा फैसला भएकामा ५,०६१ मुद्दा लागुऔषध कसुरका, विचाराधीन १०,८१७ मुद्दामध्ये लागुऔषध कसुरका मात्रै २,८५८

नेपालमा लागुऔषधको कारोबार चिन्ताजनक रूपमा बढेको छ । लागुऔषधसम्बन्धी मुद्दाको बढ्दो दरले यसलाई पुष्टि गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकभरका अदालतमा फैजदारी अभियोगसँग सम्बन्धित २० हजार ७०८ मुद्दा फैसला भएकामा पाँच हजार ६१ मुद्दा लागुऔषध कसुरका छन्, जुन कुल फौजदारी मुद्दाको २४.४४ प्रतिशत हो ।

त्यस्तै, मुलुकभरका अदालतमा विचाराधीन फौजदारी मुद्दा १० हजार ८१७ छन् । जसमा लागुऔषध कसुरका मात्रै दुई हजार ८५८ मुद्दा छन्, जुन कुल विचाराधीन फौजदारी मुद्दाको २६.४३ प्रतिशत हो । यो तथ्यांकले लागुऔषध कारोबार बढेको देखाउँछन् । लागुऔषध ब्युरो प्रमुख एसएसपी कृष्ण कोइराला स्वीकार गर्छन्, ‘लागुऔषध कसुरका मुद्दा बढ्नु भनेको कारोबार बढ्नु हो । यो दर विगतको तुलनामा अपत्यारिलो ढंगले बढेको देखिन्छ । जसले प्रहरीलाई मात्रै होइन, अदालतलाई समेत इन्गेज गराएको छ । यसो हुनु मुलुकका लागि राम्रो संकेत होइन ।’

लागुऔषध कसुरमा पक्राउ परेका अभियुक्त कारागार चलान हुने दर पनि बढ्दो छ । चालू आवको चैत मसान्तसम्मको तथ्यांक हेर्दा अघिल्लो आवको तुलनामा लागुऔषध कसुरमा पक्राउ परेको अभियुक्त कारागार चलान हुने दर ११ प्रतिशतले बढेको हो ।

नेपाल प्रहरीको तथ्यांकअनुसार चालू आवको चैत मसान्तसम्म मुलुकभर लागुऔषध कसुरका मात्रै तीन हजार ७२१ मुद्दा दर्ता भए । त्यसमध्ये तीन हजार ४६१ मुद्दाका अभियुक्त कारागार चलान भए । बाँकी २६० मुद्दाका अभियुक्त मात्रै धरौटीमा छुटे । यो कुल दर्ता मुद्दाको ६.९८ प्रतिशत हो । अर्थात् ९३.०१ प्रतिशत मुद्दाका अभियुक्त भने कारागार चलान भए । अघिल्लो आव ०८१/८२ मा भने यो दर ८२ प्रतिशत थियो । उक्त आवमा मुलुकभर लागुऔषध कसुरका पाँच हजार ६१ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये चार हजार १५० मुद्दाका अभियुक्त कारागार चलान भएका थिए । बाँकी ९१० मुद्दाका अभियुक्त सम्बन्धित अदालतमा धरौटी रकम बुझाएर हिरासतबाट मुक्त भएका थिए । तथ्यांक हेर्दा अघिल्लोभन्दा चालू आवमा कारागार जानेको दर ११ प्रतिशतले बढेको देखिन्छ । प्रहरीले अनुसन्धानलाई बढीभन्दा बढी तथ्यपरक बनाउँदा यो परिणाम आएको ब्युरो प्रमुख कोइरालाले बताए ।

‘प्रत्येक वर्ष अदालतमा लागुऔषध कसुरमा सरदर पाँच हजार मुद्दा दर्ता हुन्छन् । त्यसमध्ये ९३ प्रतिशत मुद्दाका अभियुक्त जेल चलान भएको तथ्यांकले देखाउँछ । पछिल्ला दुई आर्थिक वर्ष तुलना गर्दा लागुऔषध कसुरमा कारागार जाने दर ११ प्रतिशतले धेरै छ । प्रहरीले अनुसन्धानलाई बढी तथ्यपरक बनाउँदा यो परिणाम आउन सकेको हो,’ उनले भने ।

पक्राउ, मुद्दा दर्ता र फैसलासँगै कारागारमा पनि लागुऔषध करोबारसँग सम्बन्धित कैदीबन्दीको चाप बढेको छ । कारागार व्यवस्थापन विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकभरको कारागारमा यो कसुरका कैदीबन्दी मात्रै सात हजार १९४ छन् । यो मुलुकभर रहेका कुल कैदीबन्दीको २६.९४ प्रतिशत हो । हाल मुलुकभरको ७४ कारागारमा कुल २६ हजार ६९५ कैदीबन्दी छन् । त्यसपछि सबैभन्दा धेरै जबर्जस्ती करणी कसुरका कैदीबन्दी छन् । उनीहरूको संख्या सात हजार १६८ छ । यो कुल कैदीबन्दीको २६.८५ प्रतिशत हो ।

विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले मुलुकभरका कारागारमा अहिले लागुऔषध र जबर्जस्ती करणी कसुरका कैदीबन्दी सबैभन्दा धेरै रहेको बताए । ‘मुलुकभरका कारगारमा सबैभन्दा धैरै लागुऔषध र जबर्जस्ती करणी कसुरका कैदीबन्दी छन् । तथ्यांक हेर्दा लागुऔषध कसुरका सात हजार १९४ र जबर्जस्ती करणी कसुरका सात हजार १६८ रहेको देखिन्छ ।’
 

See More On

सुझावित समाचार