सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रिमण्डल फेरबदल

मुख्यमन्त्री शाहको पद जोगाएर असन्तुष्ट पक्षले लियो भाग, तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन प्रदेश सरकारको मन्त्रिमण्डल फेरबदल गरिएको छ । कांग्रेसमा असन्तुष्ट पक्षले मन्त्रिमण्डलमा भाग पाएपछि मुख्यमन्त्री कमलबहादुर शाहको पद पनि जोगिएको छ । शाहले कांग्रेसबाट मन्त्री बनेका सबै तीन मन्त्री र दुई राज्यमन्त्रीलाई फिर्ता बोलाएर सोमबार नयाँ नियुक्ति गरेका हुन् ।

विक्रमसिंह धामीले आर्थिक मामिलामन्त्री, बेलबहादुर रानाले सामाजिक विकासमन्त्री र मानबहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै, मधुदेवी भारतीले सामाजिक विकास राज्यमन्त्री र जुनाकुमारी दानीले आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँ र राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री शाह पक्षबाट धामी मन्त्री र भारती राज्यमन्त्री तथा असन्तुष्ट पक्षबाट रावल र राना मन्त्री तथा दानी राज्यमन्त्री बनेका हुन् ।

संसदीय दलमा विवाद चर्किएपछि कांग्रेसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएर पार्टीभित्र भागबन्डाका आधारमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको हो ।  

प्रदेश सभामा कांग्रेसका १८ सांसदमध्ये नौजना मुख्यमन्त्री शाहलाई हटाउने प्रयासमा लागेपछि विवाद चर्किएको थियो । एक सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन् । नौ सांसदले मुख्यमन्त्री हटाउन संसदीय दलमा दलको नेताको निर्वाचन माग गर्दै निवेदन दिएका थिए । यसले मुख्यमन्त्रीको पद धरापमा परेको थियो । दलको नेता हटाउन हस्ताक्षर गर्ने सांसदमध्ये डम्मरी महरा पछि हटेपछि मुख्यमन्त्री शाहमाथिको संकट टरे पनि दलमा विवाद कायम थियो ।

कांग्रेस दलभित्रको विवाद कांग्रेसबाट बनेका सबै मन्त्रीलाई फिर्ता बोलाएर दुवै पक्षबिच भागबन्डाका आधारमा नयाँलाई मन्त्री नियुक्त गर्ने सहमतिमा टुंगिएको थियो ।

सत्तासाझेदार नेकपा एमालेले पनि आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो, तर अन्तिममा एमालेले बहालवाला मन्त्रीलाई निरन्तरता दियो ।

एमालेभित्र विवाद चर्कियो, ओलीको निर्देशनपछि पुरानैको थमौती
एमालेले पनि आफ्ना सबै तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो । दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई बुझाएको भनिएको नयाँ नियुक्त हुने मन्त्रीको नामसमेत सार्वजनिक भएको थियो । तर, सोमबार शपथको केही समयअघि मन्त्री यथावत राखेर जाने भनिएपछि एमालेभित्र विवाद चर्किएको छ ।

असन्तुष्ट समूहले संसदीय दलको कार्यालयमा तोडफोडको प्रयास गर्नुका साथै तालाबन्दीसमेत गरे । उनीहरूले दलको कार्यालयअगाडि दलका नेता रावलविरुद्ध नाराबाजी गर्दै दलको कार्यालयमा राखिएको उनको ‘नेमप्लेट’ तोडफोड गरेका छन् । त्यस्तै, एमालेको प्रदेश कार्यालयमा समेत असन्तुष्ट पक्षले तालाबन्दी गरेका छन् ।

‘मन्त्री बन्नेहरूको नाम मुख्यमन्त्रीलाई बुझाएको भनेर सार्वजनिक गरियो । सामाजिक सञ्जालमा उहाँहरूलाई धेरैले बधाईसमेत दिए । तर, अन्तिममा मन्त्रीहरू यथावत राख्ने भनेर मन्त्रीमा नाम सिफारिस भएकाहरूको बदनाम गर्न खोजियो,’ आक्रोशित एमाले कार्यकर्ता बमबहादुर बमले भने, ‘कायम राख्ने भए मान्छेको बेइज्जत किन गरेको ? के कारणले मन्त्रीको शपथ रोकियो, पार्टीले स्पष्ट पार्ला भनेर तालाबन्दी गरेका हौँ ।’

मन्त्री फिर्ता बोलाउनेबारे औपचारिक निर्णय गर्न एमाले संसदीय दलको बैठक सोमबार दिउँसो बसेको थियो । स्रोतका अनुसार त्यही वेला एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर बजेटको मुखमा मन्त्रीहरू नफेर्न निर्देशन दिएपछि मन्त्री फिर्ता बोलाउने निर्णय भएन । ‘सुरुमा केन्द्रकै निर्देशनमा मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने भनिएको थियो, तर पछि बजेटको मुखमा मन्त्रीहरू फिर्ता नबोलाउन भनेर निर्देशन आएपछि कायम राखेर जाने कुरा भयो,’ एमालेका एक सांसदले भने ।

प्रदेश सरकारमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसबाट मुख्यमन्त्री, तीन मन्त्री र दुई राज्यमन्त्री छन् ।
 

सुझावित समाचार