रासनभत्ता अनियमितताको आरोपमा सशस्त्र प्रहरीका दुई डिएसपी कारबाहीमा

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

अत्यधिक मात्रामा कर्मचारीहरू बिदामा छाडेर रासनभत्तामा बदमासी गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सल्यान गुल्म र  जाजरकोट गुल्मका गुल्मपतिहरूलाई कारबाही गरेकाे छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कमान्डबाट फिर्ता बोलाएको छ ।

केही दिनअघि ती दुई गुल्मका गुल्मपति डिएसपीहरूले गुल्ममा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू अत्यधिक मात्रामा बिदा छाडेको भन्ने उजुरी सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयमा  परेपछि प्रधान कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको कमानडमा छानबिन टोली त्यस ठाउँमा खटिएको थियो ।     

सोही छानबिन टोलीको प्रतिवेदनको आधारमा उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कानुन निर्देशनालयमा हाजिर गराइएको थियो । सो टोलीको प्रतिवेदनका आधारमा सल्यानका डिएसपी भरतबहादुर कुँवर र जाजरकोटमा सुजन थापालाई कानुन निर्देशनालयले विभागीय कारबाही गरेको छ ।  फिर्ता बोलाइएका ती दुई गुल्मपतिहरूको ठाउँमा तत्कालै नयाँ कमान्डर खटाइने सशस्त्र प्रहरी प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले बताए । 

त्यस्तै, केही दिनअघि मुस्ताङको कोरला नाकाबाट अवैध रूपमा दुईवटा ट्रकमा  भित्रिएको भेपको विषयमा सुरक्षा कमजोरी देखिएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमान्डर सशस्त्र प्रहरी निरीक्षकमाथि पनि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुझावित समाचार