खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थालाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम समापनको अवसर पारेर चार कृषक, चार विद्यार्थी, चार शिक्षक, तीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, चार विद्यालय, सात कर्मचारी तथा एउटा निर्माण उपभोक्ता समिति पुरस्कृत भएको हो ।
कृषकतर्फ सबैभन्दा बढी अन्नबाली फलाउने वडा नं. ७, खोटाङबजारका कृषक तुलसीराम चौलागाईं, फलफूल खेतीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ४, बडकादियालेका सुरेश अछामी, नगदेबालीतर्फ सबैभन्दा बढी उत्पादन गर्ने वडा नं. ८, सिम्पानीका सुवास खड्का र पशुपालनतर्फ सबैभन्दा बढी पशुपालन गर्ने वडा नं. १, लिकुवापोखरीका दुर्गाबहादुर खड्का पुरस्कृत भएका छन् । पुरस्कृत कृषकलाई जनही रु. १५ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५, चिप्रिङका वडाध्यक्ष किरण राईले जानकारी दिएका छन् ।
विद्यार्थीतर्फ सिद्ध आधारभूत विद्यालय खोटाङबजारको कक्षा ५ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गर्ने विद्यार्थी सिम्रण गुरुङ, कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने भगवती दीनानाथ माध्यमिक विद्यालयकी सम्झना राई, माध्यमिक शिक्षा परीक्षामा (एसइई)मा सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण हुने भगवती दीनानाथ माध्यमिक विद्यालयका अनिश फुयाँल र कक्षा १२ मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गर्ने भगवती दीनानाथ माध्यमिक विद्यालयकै नवराज श्रेष्ठ पुरस्कृत भएका छन् । विभिन्न तहमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकामा पुरस्कृत विद्यार्थीलाई जनही रु. सात हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षकतर्फ माध्यमिक विद्यालय तहमा सिम्पानी माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद घिमिरे, निम्नमाध्यमिक विद्यालय तहमा देवीस्थान आधारभूत विद्यालय बडकादियालेका किरण राई र प्राथमिक विद्यालय तहमा महाकन्या आधारभूत विद्यालय वाप्लुखाका पेसलकुमार राई तथा बालविकास केन्द्रतर्फ भगवती दीनानाथ माध्यमिक विद्यालयकी पूजन अधिकारी पुरस्कृत भएका छन् । पुरस्कृत शिक्षकहरूलाई जनही रु. सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
पुरस्कृत कृषक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा निर्माण उपभोक्ता समितिलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रूपेशकुमार राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । आफूले गरेको कामलाई गाउँपालिकाले मूल्यांकन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्न हौसला मिलेको पुरस्कृत व्यक्तिहरूले बताएका छन् ।