वीरगन्जका मेयर राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नगरप्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० की रिता भट्टराईकी छोरी रुविना भट्टराईलाई रुविना श्रेष्ठ बनाएर नागरिकता दिलाएको बताइएको छ।
सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल फेरबदल गरेका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेसबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार बेलुकी पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेसभित्रको दुई समूहबिचको भागबन्डाका आधारमा मन्त्री नियुक्त गरिएको हो। सत्तासाझेदार नेकपा एमालेले पनि आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो, तर अन्तिममा एमालेले बहालवाला मन्त्रीलाई निरन्तरता दियो।
आइसिसी टी–२० आई वरीयतामा नेपालकाे सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ टी–२० आई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले सोमबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १५औँ स्थानमा उक्लिन सफल भएको हो।
नेपालले वरीयतामा सुधार गर्दा यसअघि १५औँ स्थानमा रहेको स्कटल्यान्ड भने एक स्थान तल झर्दै १६औँ स्थानमा पुगेको छ। सूचीका अन्य टोलीको स्थितिमा भने कुनै परिवर्तन भएको छैन।
प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित
विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) सम्मका लागि स्थगित गरिएको छ। प्रारम्भमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक पछि सूचना टाँसेर भोलि दिउँसो १ बजे बस्ने गरी सारिएको हो।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिबारे विपक्षी दलहरूले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति हटाउन र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग राखेका छन्। यही विषयलाई लिएर विपक्षीले बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए।
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति चाहिन्छ : सांसद शाही
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेर गर्ने सूचना चुहावट भएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा शाहीले अर्थमन्त्री र अर्थमन्त्रीले स्वीकृत गरेका व्यक्तिबाहेक अरूलाई यस विषयमा थाहा नहुने उल्लेख गर्दै भने, ‘सूचना लिक भएर ७५३ वटा गाडी नाकाबाट भित्रिन्छन्। १४ गते भन्सार पास गरिन्छ, २० गते गाडी आउँछन्। अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर के हो ? यो चुहावटचाहिँ कसले गर्याे ? अनि सरकारले छानबिन समिति बनाउँछ बडो गजबको। आफैँ छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्नेतिर जान्छ।’
स्वास्थ्यमा ३५ वर्षपछि थपियो ९७७ दरबन्दी
सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा ९७७ दरबन्दी थपेको छ । जबकि, नागरिकलाई सहज सेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा एक लाख जनशक्ति आवश्यक छ । अहिले ०४८ को स्वास्थ्य नीतिअनुसार ३३ हजार ४८० दरबन्दी छ । जुन, आवश्यक जनशक्तिको एकतिहाइ मात्रै हो ।
सरकारले संघीय पुलअन्तर्गत हालै ९७७ दरबन्दी थप्ने निर्णय गरेको छ । यसअघि पुलमा ८३१ दरबन्दी कायम छन् । थपिएका दरबन्दीमा लोकसेवामार्फत पूर्ति गर्ने सरकारको योजना छ । पछिल्लोपटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी ३४ हजार ४५७ मात्रै पुग्छ । नयाँ दरबन्दीले ठुला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठुलो खाडल पुर्न सक्दैन ।
परीक्षार्थीको मोबाइल नष्ट गरेको विरोधमा सिराहामा प्रदर्शन
माध्यमिक शिक्षा परीक्षा (एसइई)का क्रममा सिराहामा जफत गरिएका मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोर्बैता यादव बहुमुखी क्याम्पसबाट विद्यार्थी संगठनले जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालय सिराहा घेराउ गरेका हुन्। संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै विद्यार्थीहरूको नष्ट गरिएको मोबाइलको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
ट्राफिक कारबाहीमा परे हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ ट्राफिक कारबाहीमा परेका छन्। लापरबाहीसाथ सवारी चलाएपछि साम्पाङलाई आवश्यक कारबाही गरिएको नेपाल प्रहरीले जनाएको छ।
साम्पाङ एक हातले मोटरसाइकलको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर भिडियो गर्ने क्रममा दुर्घटनामा परेका थिए। ट्राफिक नियम पालना नगरी सवारी चलाएको जनगुनासोका आधारमा सम्पाङलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
सम्पत्ति शुद्धीकरणमा भट्ट र अग्रवालको म्याद पुनः थप
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध पुनः म्याद थप भएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले दुवैलाई तीन/तीन दिनको म्याद थप अनुमति दिएको हो। भट्टको हकमा आज आठौँपटक र अग्रवालको हकमा नवौँपटक म्याद थप भएको हो।
हङकङलाई १९ रनले हराउँदै नेपाल एसियाली खेलकुद २०२६ छनोटको उपाधि जित्न सफल भएको छ ।
सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८९ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले ११.३ ओभरमा ११४ रन बनाएको थियो। तर, वर्षा भएपछि नेपालले डिलक्स पद्धतिमा जितेको हो ।
यसअघि समूह चरणमा चीन र मलेसिया तथा सेमिफाइनलमा ओमानविरुद्ध सहज जित निकाल्न सकेन । नेपाललाई हङकङविरुद्ध विकेटका लागि संघर्ष गर्नुपर्याे ।