अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ टी–२० आई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले सोमबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १५औँ स्थानमा उक्लिन सफल भएको हो।
नेपालले वरीयतामा सुधार गर्दा यसअघि १५औँ स्थानमा रहेको स्कटल्यान्ड भने एक स्थान तल झर्दै १६औँ स्थानमा पुगेको छ। सूचीका अन्य टोलीको स्थितिमा भने कुनै परिवर्तन भएको छैन।
खेलाडीको वरीयता खस्कियो
टोलीको वरीयतामा सुधार देखिए पनि खेलाडीको व्यक्तिगत प्रदर्शन भने खस्किएको छ। ब्याटिङतर्फ कुशल भुर्तेलले दुई स्थान सुधार गर्दा दीपेन्द्रसिंह ऐरी एक र आसिफ शेख तीन स्थान तल झरेका छन्। उनीहरू क्रमशः ६४, ६१ र ९५औँ स्थानमा छन्।
बलिङतर्फ सन्दीप लामिछाने तीन स्थान तल झर्दै ५८औँ तथा ऐरी चार स्थान तल झर्दै ७७औँ स्थानमा रहँदा अन्य खेलाडी शीर्ष सयमा नै परेनन्।
अलराउन्डतर्फ पनि ऐरी एक स्थान तल झर्दै पाँचौँ नम्बरमा पुगेका छन् भने तीन स्थान तल झरेका रोहित पौडेल ४६औँ तथा दुई स्थान तल झरेका गुल्सन झा ७५औँ स्थानमा छन्। कुशल भुर्तेल २३औँ नम्बरमा यथावत् छन्।