सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल फेरबदल गरेका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले कांग्रेसबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार बेलुकी पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेसभित्रको दुई समूहबिचको भागबन्डाका आधारमा मन्त्री नियुक्त गरिएको हो। सत्तासाझेदार नेकपा एमालेले पनि आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो, तर अन्तिममा एमालेले बहालवाला मन्त्रीलाई निरन्तरता दियो।
कांग्रेसबाट बिक्रमसिंह धामीले आर्थिक मामिलामन्त्री, बेलबहादुर रानाले सामाजिक विकासमन्त्री, मानबहादुर रावलले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा मधुदेवी भारतीले सामाजिक विकास राज्यमन्त्री र जुनाकुमारी दानीले आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएका छन् ।
नवनियुक्त तीन मन्त्रीलाई प्रदेश प्रमुख नजिर मियाँ र राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनीयताको शपथ गराएका छन् । संसदीय दलमा विवाद चर्किएपछि कांग्रेसले आफ्ना सबै मन्त्रीलाई फिर्ता बोेलाएर पार्टीभित्र भागबन्डाका आधारमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको हो ।
प्रदेश सभामा कांग्रेसका १८ सांसदमध्ये नौजना मुख्यमन्त्री हटाउने प्रयासमा लागेपछि विवाद चर्किएको थियो । नौ सांसदले मुख्यमन्त्री हटाउन संसदीय दलमा दलको नेताको निर्वाचन माग गर्दै निवेदन दिएका थिए । दलको नेता हटाउन हस्ताक्षर गर्नेमध्ये एक सांसद पछि हटेपछि मुख्यमन्त्री शाहको पद जोगिए पनि विवाद कायम थियो।
कांग्रेस दलभित्रको विवाद कांग्रेसबाट बनेका सबै मन्त्रीलाई फिर्ता बोलाएर दुवै पक्षबिच भागबन्डाका आधारमा नयाँलाई मन्त्री नियुक्त गर्ने सहमतिमा टुंगिएको थियो। मुख्यमन्त्री शाह पक्षबाट धामी मन्त्री र भारती राज्यमन्त्री तथा असन्तुष्ट पक्षबाट रावल र राना मन्त्री तथा दानी राज्यमन्त्री बनेकी हुन् ।
पार्टीबाट बनेका बहालवाला सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारीबाट अन्तिम समयमा पछि हटेपछि एमालेभित्र भने विवाद चर्किएको छ । असन्तुष्ट समूहले संसदीय दलको कार्यालय र एमाले प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले दलका नेता राजेन्द्रसिंह रावलविरुद्ध नाराबाजी गर्दै दलको कार्यालयमा राखिएको रावलको ‘नेमप्लेट’ तोडफोड गरेका थिए। त्यस्तै, दलको कार्यालयसमेत तोडफोडको प्रयास असन्तुष्ट पक्षले गरेका छन् ।