अमेरिकाको न्यूजर्सीमा ‘नेपाल डे’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। नेपला डे न्यूजर्सीको आयोजनामा फेरलन सिटीमा शनिबार गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता थियो।
नेपाली महावाणिज्य दुतावास न्यूयोर्क र गैरआवासीय नेपाली संघ अमेरिकासँगको सहकार्यमा गरिएको कार्यक्रममा नेपाली मौलिक एवं परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।
नेपाली महावाणिज्य दुत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा फेरलन सिटीकी मेयर क्रिटिना कुट्रोन र उपमेयर जोश रेईनिजको विशेष उपस्थिति थियो। नेपाली र अमेरिकी झण्डाले सजिएको कार्यक्रममा मौलिक भेषभुषामा सजिएका सहभागीहरुको उत्साहले कार्यक्रम निकै रोचक बनेको थियो। कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए।
नेपाली भाषा, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने र नेपालीको उपस्थितिलाई बलियो बनाउन कार्यक्रम गरिएको नेपाल डे न्यूजर्सीका कन्भेनर सञ्जिव श्रेष्ठले जानकारी दिए। उनले यस्तो कार्यक्रमले मातृभूमि प्रतिको दायित्व, नेपाली कला र संस्कृतिको संरक्षणसँगै सामाजिक एकता र सद्भाव बढाउने दाबी गरे।
कार्यक्रमस्थलमा नेपाली मौलिक खाना, परम्परागत पोषाक एवं जानकारीमूलक सामाग्रीहरुको प्रदर्शनी एवं विक्रिवितरण गरिएको थियो।
गत वर्षबाट सुरु गरिएको नेपाल डे कार्यक्रम प्रत्येक वर्ष गरिने अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए। दोश्रो चरणको कार्यक्रममा कलाकारहरु जेम्स प्रधान र कृष्ण काफ्लेले विशेष सांगीतिक प्रस्तुति दिएका थिए।