राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको प्रथम जिल्ला अधिवेशनले भुवन थापालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ। जिल्ला उपसभापतिमा नारद कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिवमा सिराज जोशी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा फणीन्द्र थापा, प्रेमबहादुर कार्की, विमला गहतराज, मनोज खड्का र पुनम गिरी राणा चयन भएका छन्। अधिवेशनले पार्टी संगठनलाई जिल्लाभर थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ। नवनिर्वाचित सभापति थापाले पार्टीको संगठन विस्तार, जनसरोकारका मुद्दाको उठान तथा सुशासन र विकासका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रकाशचन्द्र परियार, प्रदेश सदस्य दीपक गुरागाईँ, रास्वपा धनकुटाका संस्थापक अध्यक्ष बालानन्द दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए।