प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूको विरोध जारी रहेपछि प्रतिनिधिसभाको बैठक सोमबार १५ मिनेटका लागि स्थगित गरिएको छ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक केही समयका लागि स्थगित गरेका हुन्।
विरोधबिच सभामुखले एमाले संसदीय दलकी उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए। उनले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा तथा आफ्नो पदको जिम्मेवारीविपरीत अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको सार्वजनिक रूपमा सच्याउन र क्षमायाचना गर्न माग गरिन्।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल–भारत सीमासम्बन्धी विषय कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। सो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।
विपक्षीको अवरोध कायमै रहेपछि सोमबारको बैठक पनि प्रभावित भएको हो।