राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो हालैको भारत भ्रमणबारे सर्वदलीय बैठकमा जानकारी गराएका छन्।
संसद् सचिवालय, सिंहदरबारमा सोमबार आयोजित सर्वदलीय बैठकमा उनले भारत भ्रमणका क्रममा भएका भेटघाट र समसामयिक विषयबारे ब्रिफिङ गरेका हुन्।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, संसदमा देखिएको अवरोध तथा अन्य समसामयिक विषयमा छलफल भएको थियो। बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले सर्वदलीय संवादको सुरुवातलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका थिए।
महामन्त्री बुर्लाकोटीले संसदमा जारी गतिरोध अन्त्य गर्ने उपायबारे पनि बैठकमा विचार-विमर्श भएको जानकारी दिए। राजनीतिक सहमति र संवादमार्फत समाधान खोज्ने विषयमा नेताहरूबिच धारणा आदान–प्रदान भएको उनको भनाइ छ।
समसामयिक राजनीतिक घटनाक्रम र संसद्को प्रभावकारी सञ्चालनका विषयमा साझा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए।