१७औँ कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड, २०२६ निर्णायकमण्डल (जुरी) सदस्यमा प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं क्रिएटिभ हेड रञ्जित आचार्य मनोनीत भएका छन् । कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरी टेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्ड मानिन्छ ।
यस प्रतियोगिताको निर्णायकमण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि ऐतिहासिक उपलब्धि भएको बताइएको छ । अस्ट्रियाको भियना सहरमा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्डस् प्रत्येक वर्ष फ्रान्सको कान्स सहरमा आयोजना गरिँदै आइएको छ ।
यो अन्तर्राष्ट्रिय महोत्सवले कर्पोरेट फिल्म, अनलाइन मिडिया उत्पादन, वृत्तचित्र तथा प्रतिवेदन निर्माणका लागि विश्वस्तरीय मापदण्ड निर्धारण गर्दै आएको छ । १७औँ संस्करणका रूपमा आयोजना हुन लागेको सन् २०२६ को अवार्डमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश छन् ।