अफ्रिकाबाहिर फैलिएको इबोलाविरुद्ध बढ्दो सतर्कता

चिन्ताबिच केही देशहरूले कंगोबाट फर्केका आफ्ना नागरिकलाई अनिवार्य २१ दिनको क्वारेन्टाइनमा राख्न थालेका छन्

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

पछिल्लो इबोला प्रकोपले अहिलेसम्म कमजोर हुने कुनै संकेत देखाएको छैन । २४ अप्रिलमा डेमोक्रेटिक रिपक्लिब अफ द कंगो (डिआरसी)मा इबोलाको दुर्लभ भेरिएन्ट ‘बुन्डिबुग्यो स्ट्रेन’को पहिलो शंकास्पद ‘केस’ भेटिएको थियो । मे १७ सम्ममा विश्व स्वास्थ्य संगठनले सो प्रकोपलाई ‘अन्तर्राष्ट्रिय रूपमा चिन्ताजनक सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गर्यो । यो प्रकोप रेकर्ड राख्न थालिएपछिको तेस्रो सबैभन्दा ठुलो हो । २७ मेसम्म यसका ९०६ शंकास्पद केस र २२३ मृत्यको रेकर्ड छ । भाइरस अफ्रिकाबाहिर पनि फैलिएको हुन सक्छ । 

स्वास्थ्य अधिकारीले अहिले इटालीमा एक शंकास्पद केस र ब्राजिलमा दुई सम्भावित केसमाथि अनुसन्धान गरिरहेका छन् । तीनैजना डिआरसी वा युगान्डा घुमेर फर्किएका यात्रु हुन् । इबोला भाइरस पोजेटिभ देखिएका एकजना अमेरिकी पुरुषको हाल जर्मनीमा उपचार भइरहेको छ । चिन्ता बढ्दै जाँदा, महामारी तयारीसम्बन्धी ‘कोलिसन अफ एपिडेमिक प्रिपेर्डनेस इन्नोभेसन्स’ले बुन्डिबुग्यो स्ट्रेनलाई लक्षित गर्दै तीन सम्भावित खोपलाई छिटो बनाउन ६ करोड अमेरिकी डलरभन्दा बढी कोष प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

इबोला दुर्लभ तर घातक भाइरस हो । यो मुख्यतया संक्रमित व्यक्तिको रगत, र्याल, दिसा र बान्ताका छिटाजस्ता शरीरबाट निस्कने तरल पदार्थसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा सर्छ । संक्रमितमा प्रारम्भिक रूपमा घाँटी र टाउको दुख्ने, ज्वरो आउने, थकान लाग्ने र शरीर दुख्ने लक्षण देखिन्छ । गम्भीर अवस्थामा संक्रमितमा छालामा दाग देखिने, सास फेर्न गाह्रो हुने, बान्ता भइरहने, पखाला लाग्ने, पेट दुख्ने समस्या आउँछ । इबोला पहिलोपटक सन् १९७६ मा मानिसमा पहिचान गरिएको थियो । त्यसवेलादेखि, विश्वभर ४० भन्दा बढी ससाना प्रकोप देखिइसकेका छन्, जसमध्ये धेरैजसो अफ्रिकी महादेशमै देखिएका छन् । 

हाल डिआरसी र युगान्डाको सिमानामा फैलिएको तेस्रो प्रकोप हो । विगतका अधिकांश प्रकोप योभन्दा थप घातक ‘जायर स्ट्रेन’बाट हुने गर्थ्यो । ‘बुन्डिबुग्यो स्ट्रेन’बाट संक्रमितमध्ये ३४ प्रतिशतको मृत्यु हुन्छ भने ‘जायर स्ट्रेन’बाट संक्रमितमध्ये ९० प्रतिशत मानिस पर्ने गरेको पाइएको छ । डिआरसी–युगान्डा सिमानामा अहिले देखिएको इबोलामा सुरुतिर प्रायः संक्रमितमा देखिने लक्षण नदेखिँदा यसले फैलने मौका पायो । यस्तै, अवस्था सन् २०१४–१६ को विनाशकारी पश्चिम अफ्रिकी प्रकोपमा पनि देखिएको थियो । प्रकोपका सुरुवाती केसमा रोग यकिन गर्न सकिने लक्षण नदेखिँदा सतर्कता अपनाउनु र प्रकोपको घोषणाअघि धेरैलाई संक्रमित बनाइसकेको थियो । सन् २०१४–१५ को प्रकोपमा 
झन्डै ११ हजारभन्दा बढीको ज्यान गएको थियो । 

दुवै प्रकोपमा घनाबस्ती भएका सहरी क्षेत्र केन्द्र बने । त्यसबाहेक स्वास्थ्योपचार गर्ने केन्द्रभित्रै संक्रमणको व्यापक विस्तार प्रकोप फैलावटको कारण बनिरहेको छ । राजनीतिक अस्थिरता र सामाजिक अशान्तिले पनि दुवै प्रकोपमा योगदान पुर्याए । असन्तोषबिच डिआरसीमा यसपटक भिडले संक्रमितका लागि अस्पतालमा बनाइएका पालमा आगो लगायो । झडपका कारण केही बिरामी आइसोलेसन वार्डबाट भागे र फर्किएर आएनन् । त्यसबाहेक अफ्रिकी देशमा मृत्युसंस्कारमा अपनाइएका शवलाई सबै मलामीले छोएर बिदा गर्ने परम्परागत सांस्कृतिक अभ्यासले पनि दुवै प्रकोपको फैलावटलाई तीव्र बनाउन सघाएको हुन सक्छ ।

मुख्यतः पछिल्लो इबोला प्रकोप यात्रुका माध्यमबाट अन्य महादेशमा फैलिएको छ । डिआरसीमा काम गर्न गएका एकजना अमेरिकी पुरुषमा इबोला पोजेटिभ देखिएपछि उनलाई जर्मनीमा उपचार गरिएको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ । इटालीमा पनि अधिकारीले डिआरसीबाट फर्केका एक यात्रुको निगरानी गरिरहेको बताएका छन् । 

केही समाचारअनुसार, ब्राजिलका अधिकारीले दुई संदिग्ध इबोला केसमाथि जाँच गरिरहेका छन् । दुईमध्ये एकजना डिआरसीबाट साओ पाउलो फर्केका थिए भने अर्का व्यक्ति युगान्डाबाट रियो दी जेनेरियो सहर गएका थिए । दुवै संदिग्ध अन्य रोगको उपचारका धलागि अस्पताल गएका बखत निगरानीमा परेका हुन् । साओ पाउलोका व्यक्ति गम्भीर मेनिन्जाइटिस र रियो दी जेनेरियोका व्यक्ति रुघाखोकी र पखालाको साथमा मलेरिया जचाउन अस्पताल गएका थिए । उनीहरूमा पहिलोपटक इबोलाको परीक्षण गर्दा नकारात्मक देखिए पनि निगरानीमा राखिएको अधिकारीले बताएका छन् । 

यसैबिच, धेरै देशले इबोलालाई आफ्नो सीमाभित्र आउन रोक्न यात्रामा प्रतिबन्ध लगाएका छन् । अमेरिका र क्यानडा दुवैले डिआरसी, युगान्डा र दक्षिण सुडानबाट आउने यात्रुको प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका छन् । केही देशले डिआरसीबाट फर्केका आफ्ना नागरिकका लागि २१–दिनको क्वारेन्टाइन अनिवार्य गरेका छन् । अमेरिका, भारत र मेक्सिकोजस्ता देशले पनि विशेषगरी विमानस्थलमा स्वास्थ्य परीक्षण र रोग निगरानीका उपाय बलियो बनाएका छन् । 
 (चुगताई, सिल र इस्लाम तीनैजना लेखक अस्ट्रेलियाको ‘युनिभर्सिटी अफ न्यु साउथ वेल्सका अध्यापक हुन्)द कन्भरसेसनबाट

सुझावित समाचार