रास्वपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुईजना प्रतिनिधिलाई सहभागी हुन निमन्त्रणा गरिएको छ।

रास्वपाले बैठकको औपचारिक निमन्त्रणा र सूचना संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई पठाइसकेको जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले संसदमा लगातार प्रश्न उठाउँदै आएका छन्। साथै, प्रतिनिधिसभा नियमावली पारितलगायतका विषयमा सभामुखको भूमिकामाथि पनि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्।

यी विषयलाई लिएर संसद्का बैठकहरू प्रभावित हुँदै आएका छन्। पाँच दिनपछि सोमबार प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ। उक्त बैठकअघि राजनीतिक सहमति खोज्ने उद्देश्यसहित संसद्को ठुलो दलको हैसियतमा रास्वपाले सर्वदलीय बैठक बोलाएको जनाएको छ।

सुझावित समाचार