सभापति थापासँग ३१ दिनदेखि कुनै संवाद भएकाे छैन : पूर्णबहादुर खड्का

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण
सभापति थापासँग ३१ दिनदेखि कुनै संवाद भएकाे छैन : पूर्णबहादुर खड्का

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापासँग ३१ दिनदेखि कुनै संवाद नभएको बताएका छन्। आइतबार फेसबुकमार्फत खड्काले पार्टीको सम्पूर्ण एकताका लागि दुई महिनादेखि इमानदार प्रयत्न गरे पनि कुनै प्रगति नभएको उल्लेख गरेका हुन्।

१५औँ महाधिवेशनका लागि आफूहरूले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिकको नाममा दबाब दिइएको उल्लेख गर्दै उनले यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक हुने चेतावनी दिएका छन्।

‘१५ औँ महाधिवेशनका लागि हामीले नवीकरण गराएका र नयाँ क्रियाशील सदस्य साथीहरूलाई अध्यावधिकको नाममा दिइएका दबाबका कुराहरू देशैभरिबाट फोनबाट ४–५ दिनदेखि मलाई साथीहरूले जुन तरिकाले जानकारी गराइराख्नुभएको छ, यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ। म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले लेखेका छन्। 

१५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएकाहरूलाई अध्यावधिक नगरेको निहुँमा महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न नसक्ने भन्दै खड्काले ढुक्क हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

दुई दिनदेखि नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक स्वतः केन्द्रले नै गराइदिन्छ भनी अफवाह फैलाइएको भन्दै खड्काले आपत्ति जनाएका छन्।

सुझावित समाचार