हुन्डी कारोबारको आरोपमा साढे १९ लाखसहित रसुवाबाट एकजना पक्राउ परेका छन्। शनिबार स्याफ्रुबेँसीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ज ४८०७ नम्बरको भाडाको सुमो चेकजाँच गर्ने क्रममा गोसाईंकुण्ड गाउँपालिका– ३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्ग सडकखण्डमा चल्ने सवारीसाधन तथा मानिसलाई रोकी चेकजाँच गर्ने क्रममा धुन्चे बजारबाट गुरुङ पक्राउ परेका हुन्।
उनले बोकेको झोलाभित्र ने.रु. १००० दरका नोट एक हजार ८४५ थान (१८ लाख ४५ हजार), ने.रु. ५०० दरका नोट २१३ थान (एक लाख ६ हजार ५००) र ने.रु. १०० दरका नोट ६ थान (६ सय) गरी जम्मा १९ लाख ५२ हजार एक सय नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गुरुङमाथि हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा रसुवा जिल्ला अदालतबाट दिन सातको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ।