‘पेन्सन पट्टा’को बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तिजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मूल्यमा बिक्री भएको हो ।

लेखक तथा निर्देशक माओत्से गुरुङले सिनेमाको कुनै पनि प्रचार सामग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए । यो सिनेमाको बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ ।

अन्य केही देशबाट पनि रिलिज अधिकार किन्न अफर आएकाले चाँडै फाइनल हुने चरणमा रहेको निर्देशक गुरुङले जानकारी दिए । पेन्सन पट्टा’मा गुरुङ सिनेमाका ‘गडफादर’का रूपमा परिचित निर्देशक माओत्स गुरुङको पनि लगानी रहेको छ ।

सिनेमामा दयाहाङ राई, सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनील थापा, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बू, कुबिना गुरुङ, डिबी गुरुङ र प्रतीक्षा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । विश्वास र मायाले यो सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन् ।

माओत्से गुरुङ फिल्मसकाे ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । यो सिनेमा नामबाट भूतपूर्व लाहुरेको कथाजस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताउँछन् ।

मीन कोन्मे गुरुङ (युके), भोजबहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुसन प्रजापतिले छायांकन गरेको सिनेमाका कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापामगर, शिव बराइली, सुरुङ गुरुङ छन् ।

कियर कोइचले सम्पादन गरिरहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

सुझावित समाचार