प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार आयोजनाको समर्थनमा शनिबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा बृहत् र्याली निकालिएको छ। स्थानीयवासी, व्यवसायी, पर्यटन व्यवसायी, युवा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा आयोजना गरिएको र्यालीले जिल्लामा पर्यटन प्रवर्द्धनका लागि केबलकार निर्माण कार्यलाई अविलम्ब अगाडि बढाउन माग गरेको हो।
फुङलिङ बजारको वीरेन्द्र चोकबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै तोक्मेबाट फर्किएर पुनः वीरेन्द्र चोक पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले विकास निर्माणको योजनालाई संवाद र सहमतिका माध्यमबाट अगाडि बढाउनुपर्ने बताए। उनले विकासको विरोध गरेर जिल्लाको भविष्य निर्माण हुन नसक्ने मादेनले बताए।
उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य तथा व्यापारी तारानाथ घिमिरेले केबलकार सञ्चालनमा आएपछि होटेल, यातायात, कृषि तथा स्थानीय उत्पादनको व्यापारमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे। पाथीभरा पुग्ने तीर्थयात्रीको संख्या वृद्धि हुने र आम्दानी बढ्ने बताए। केबलकारको प्रत्यक्ष लाभ स्थानीय व्यवसायी, किसान तथा सवै क्षेत्रमा हुनेसमेत जानकारी दिए।
र्यालीमा सहभागी ७५ वर्षीय शुकदेव कार्कीले वृद्धवृद्धा र अशक्त व्यक्तिका लागि केबलकार अत्यन्त उपयोगी हुने बताए। अहिले भक्तजन शारीरिक कठिनाइका कारण पाथीभरा पुग्न सक्दैनन्। केबलकार बनेपछि सहज हुने कार्कीले बताए।