खडेरी र फौजी किराको दोहोरो मारमा धनकुटाका किसान

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

धनकुटाको पाख्रीबास र महालक्ष्मी नगरपालिकाका तल्लो भेगका किसान लामो खडेरीसँगै फौजी किराको दोहोरो मारमा छन्। पर्याप्त वर्षा नहुँदा एकातिर मकैबाली सुक्न थालेको छ भने अर्कोतिर फौजी किराको प्रकोप देखिएको छ।

जिल्लामा वैशाखयता पर्याप्त वर्षा नहुँदा पाख्रीबास नगरपालिका– ५ का डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवालगायत क्षेत्रका खेतबारीमा मकैका बोट पहेँलिँदै सुक्न थालेका छन्।

पाख्रीबास नगरपालिका– ५, गैरीगाउँका किसानकुमार तामाङले पाँच रोपनी क्षेत्रफलमा लगाएको मकैबाली लगभग नष्ट भएको छ। उनले भने, ‘यस वर्ष मकैको बिउ पनि जोगाउन सकिँदैन होला। चैतमा थोरै पानी परे पनि त्यसपछि वर्षा भएको छैन।’ मकै मात्र होइन वस्तुभाउलाई खुवाउने घाँससमेत सुक्न थालेको उनले गुनासो गरे।

अर्का किसान गोपालबहादुर थापाले मकैमा दाना लाग्ने समयमा चर्को घामले बालीलाई क्षति पुर्याएको बताए। ‘मुखमुखमा धानचामर आउने वेला थियो। तर, खडेरीले सबै मकै सुकायो,’ उनले सुनाए।

कृषिमा निर्भर स्थानीयहरूका लागि खडेरीको प्रभाव मकैमा मात्र सीमित छैन। आकासे पानीमा निर्भर अधिकांश क्षेत्रमा बर्खे धानको तयारी समेत प्रभावित भएको छ। मंसिरमा पाक्ने धानका लागि यतिबेला ब्याड राखिसक्नुपर्ने भए पनि पर्याप्त पानी नहुँदा धेरै किसानले धानको ब्याड तयार गर्न सकेका छैनन्। समयमै वर्षा नभए धान उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ।

महालक्ष्मी नगरपालिकाको लेगुवा र सालघारी क्षेत्रमा खडेरीको बढी असर देखिएको छ। त्यहाँका किसानले लगाएको मकैबाली सुक्दै गएको छ। महालक्ष्मी नगरपालिकावासीले लामो समयदेखि पानी पर्न नसक्दा  कतिपयले मकै छर्नै नपाएको र उम्रिएका बिरुवासमेत सुक्न थालेको दुखेसो गरे।

सुझावित समाचार