हेटौँडा– ६ स्थित गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत १२औँ खेलमा घरेलु टोली मकवानपुरले भक्तपुरलाई ६ विकेटले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ। उत्कृष्ट बलिङ प्रदर्शनपछि सहज लक्ष्य पछ्याएको मकवानपुरले ३७ बल बाँकी छँदै जित आफ्नो पक्षमा पारेको हो।
टसपछि पहिले ब्याटिङ गरेको भक्तपुर मकवानपुरका बलरहरूको दबाबपूर्ण प्रदर्शनसामु टिक्न सकेन। निर्धारित २० ओभर खेल्न नसक्दै भक्तपुर १५.३ ओभरमा मात्र ६८ रनमा समेटियो। भक्तपुरका लागि विशाल देवकोटाले सर्वाधिक ३२ बलमा २९ रन बनाए। रिङजिन लामाले १२ बलमा १७ रन जोड्दा सौरव साखाकर्मीले १२ बलमा नाै रन र सुभाष खत्रीले १३ बलमा आठ रनको योगदान दिए।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा भक्तपुर न्यून योगफलमा सीमित हुन पुग्यो। मकवानपुरका बलरहरूले सुरुदेखि नै विपक्षी ब्याटरमाथि दबाब कायम राखेका थिए। साकार गजुरेलले चार ओभरमा मात्र ११ रन खर्चेर तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। शुभ कंसाकारले दुई ओभरमा चार रन खर्चेर दुई विकेट लिए भने स्वरूप श्रेष्ठले तीन ओभरमा १३ रन खर्चेर दुई विकेट हात पारे। यस्तै विशाल फुयाँलले दुई ओभरमा १७ रन खर्चेर दुई विकेट लिँदा भक्तपुरको ब्याटिङ धराशायी बनेको थियो।
६९ रनको सामान्य लक्ष्य पछ्याएको मकवानपुरले सुरुवातमा विकेट गुमाए पनि खेलमाथिको नियन्त्रण भने गुमाएन। युबिन बुढाथोकीले ३२ बलमा अविजित ३१ रन बनाउँदै टोलीलाई जितसम्म पुर्याए। उनले संयमित ब्याटिङ गर्दै इनिङ्सलाई अन्तिमसम्म सम्हालेका थिए।
यस्तै शुभ कंसाकारले सात बलमा ११ रनको योगदान दिए भने सुमन सुनारले आठ बलमा १० रन जोडे। यस्तै गोकुल अधिकारीले २२ बलमा सात रन बनाएर जिततर्फको यात्रामा साथ दिए।
भक्तपुरका बलरमध्ये सुभाष खत्रीले तीन विकेट लिएर मकवानपुरलाई केही दबाबमा राखे पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै सक्रिय प्रताप कार्कीले एक विकेट लिए पनि क्रिस कार्की र अविनाश बस्यालले विकेट लिन सकेनन्।
मकवानपुरले १३.५ ओभरमा चार विकेट गुमाएर ६९ रन बनाउँदै ६ विकेटको सहज जित निकाल्यो। बलिङमा उत्कृष्ट प्रदर्शन गरेका साकार गजुरेलको योगदान टोलीको जितमा निर्णायक रह्यो। जितसँगै घरेलु टोली मकवानपुरले प्रतियोगितामा महत्त्वपूर्ण दुई अंक जोड्दै सेमिफाइनल सम्भावना जीवित राखेको छ।
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा समूह चरणका खेलहरू निर्णायक मोडमा पुगेका छन्। सेमिफाइनल प्रवेशका लागि प्रत्येक खेलको नतिजा महत्त्वपूर्ण बन्दै गएको छ।