सरकारले विज्ञापन नीतिमार्फत सञ्चारमाध्यममाथि आक्रमण गरेको अध्यक्ष शर्माको आरोप

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले ल्याएको विज्ञापन नीतिमार्फत सञ्चारमाध्यममाथि आक्रमण गरेको आरोप लगाएकी छिन् । उनले उक्त नीतिले मिडियालाई आर्थिक रूपमा कमजोर बनाउनुका साथै संविधानले सुनिश्चित गरेको नागरिकको सूचनाको अधिकारमाथि समेत प्रहार गरेको दाबी गरिन् ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको शनिबार हेटौँडामा आयोजित पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सरकारले सञ्चार क्षेत्रप्रति उदासीनता देखाएको टिप्पणी गरिन् । ‘विज्ञापन नीति तथा सरकारी व्यवहारले स्वतन्त्र पत्रकारिताको आधार कमजोर बनाउँदै लगेको छ,’ उनले भनिन्, ‘वर्तमान सरकारको कार्यशैली खतरनाक बन्दै गएको छ ।’

राजतन्त्रका वेला सञ्चारकर्मीको आन्दोलनपछि माग सम्बोधन हुने गरेको भए पनि अहिले सरकारले सञ्चारकर्मीका समस्या सुन्नसमेत नचाहेको उनको आरोप थियो । उनले सरकार लोकतान्त्रिक मूल्यविपरीत भएको दाबी गर्दै सरकार कानुनी प्रक्रिया र लोकतान्त्रिक अभ्यासभन्दा बाहिर जान थालेको बताइन् ।

‘सरकारले विज्ञापन रोकेर मात्र नभई अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने प्रयास गरेको छ,’ उनले भनिन्, ‘राज्य आफैँले मिडिया सञ्चालन गर्ने सोच लोकतान्त्रिक प्रणालीसँग पनि मेल खाँदेन ।’

अध्यक्ष शर्माले पत्रकार महासंघले केवल संस्थागत हित होइन, संविधान, लोकतन्त्र र नागरिक अधिकारको संरक्षणका लागि पनि भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् । नागरिक अगुवा, मानव अधिकारकर्मी र सरोकारवाला निकायहरूको ऐक्यबद्धताविना आन्दोलन सफल नहुने उनको भनाइ थियो ।

उनले जिम्मेवार र विश्वसनीय पत्रकारितामार्फत नागरिकको विश्वास जित्न सके मात्रै आन्दोलन प्रभावकारी बन्ने उल्लेख गरिन् । साथै, लोककल्याणकारी विज्ञापनका नाममा हुने अनियमितता रोक्न आवश्यक रहेको बताउँदै त्यसमा महासंघ सरकारलाई सहयोग गर्न तयार रहेको पनि स्पष्ट गरिन् ।

अधिवेशनमा ६ पत्रकार र एक शाखा सम्मानित
अधिवेशनको अवसर पारेर महासंघले ६ जना पत्रकार र एउटा जिल्ला शाखालाई पुरस्कृत एवं सम्मानसमेत गरेको छ ।पुरस्कृत हुनेहरूमा काभ्रेपलाञ्चोककी पत्रकार भगवती तिमल्सिना, चितवनकी पत्रकार प्रतिमा सिलवाल र मकवानपुरका पत्रकार तथा महासंघका उपाध्यक्ष ध्रुव अधिकारी रहेका छन् ।

महासंघले काभ्रेपलाञ्चोककी तिमल्सिनालाई ‘स्वर्गीय रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’, चितवनकी सिलवाललाई ‘उत्कृष्ट महिला पत्रकार पुरस्कार’ र मकवानपुरका अधिकारीलाई ‘स्वर्गीय सुर्जबहादुर सारूमगर स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । तीनैवटा पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशले जनाएको छ ।

यस्तै, महासंघले पुरस्कारका अतिरिक्त पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा तीनजना पत्रकार र एक जिल्ला शाखालाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरूमा मकवानपुरका नवराज शर्मा, चितवनका दीपक आचार्य र सिन्धुलीका पत्रकार शेषराज दाहाल रहेका छन् । यसैगरी, महासंघले धादिङ जिल्ला शाखालाई समेत विशेष रूपमा सम्मान गरेको छ।

पुरस्कार तथा सम्मानका लागि नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सोही समितिको सिफारिसका आधारमा अधिवेशनको विशेष समारोहमा पुरस्कार तथा सम्मान प्रदान गरिएको महासंघले जनाएको छ ।

सुझावित समाचार