सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्याली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरिएको साइकल र्यालीमा १५ सय जना सहभागी भएको बैंकले जनाएको छ ।
काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्यालीमा नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी, सांग्रिला डेभलमपेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार, हुँदै पुनः एलिस रिसेप्सन गैरीधारासम्मको १४ किलोमिटर दूरी पूरा गरिएको थियो ।
कार्यक्रममा सहभागीलाई बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरेकी थिइन् । यस्तै, लक्की ड्रमार्फत विजेता बनेकी अञ्जु पराजुलीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल प्रदान गरेका थिए । साथै, लक्की ड्रमार्फत नै सहभागीलाई विभिन्न गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।