गत वर्ष असोजमा आएको बाढीले रामेछाप, सिन्धुली र काभ्रे जिल्ला जोड्ने तीनवटा पक्की मोटरेबल पुल बगाएपछि ती स्थानमा तत्काल बेलिब्रिज जडान गरेर हलुका सवारीसाधन पास गरिए पनि अब ती स्थानमा तीनवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन् ।
बाढीले सिन्धुली र रामेछाप जोड्ने मुख्य नाका खुर्कोट र खैरेनीघाटको पुल बगाएको थियो । त्यसैगरी, काभ्रे र रामेछापको सिमानामा पर्ने दोभानटारमा नयाँ मोटरेबल पुल निर्माण हुने भएको छ । यी तीनवटा पुल निर्माणका लागि डिभिजन सडक कार्यालय खाल्टेले एकैपटक ठेक्का आह्वानसमेत गरेको छ ।
०८० असोज १२ गते पुल बगेपछि खुर्कोटमा तत्कालै बेलिब्रिज जडान गरेर रामेछापलाई बिपी राजमार्गसँग जोडिएको थियो । खैरेनीमा हालै केही दिनअघि मात्रै भारत सरकारले उपलब्ध गराएको बेलिब्रिज जडान गरी आवागमन सञ्चालनमा ल्याइएको छ । डिभिजन कार्यालयले खुलाएको ठेक्काअनुसार अब पुल निर्माण गर्ने स्थानको चयन, डिजाइन र लागत अनुमान स्वयं निर्माण व्यवसायीले नै गर्नुपर्नेछ ।
खुर्कोटमा हाल रहेको पुलआसपासको क्षेत्रमा पुल निर्माण हुन सक्ने भए पनि खैरेनीघाटमा पहिला हालेको स्थानभन्दा केही तल बनाउन उपयुक्त हुने स्थानीयहरू बताउँछन् । उक्त पुल निर्माण गर्दा सिन्धुलीको दुम्जानजिकको टुप्पीडाँडामा एकातर्फको जग हुने गरी पुल बनाउँदा राम्रो हुने सुझाव स्थानीयले दिएको खाँडादेवी गाउँपालिकाका शिवहरि श्रेष्ठले बताए ।