आफैँले प्रतियोगिता आयोजना गरिरहँदा क्यानडाको राष्ट्रिय टिमलाई इतिहासमै पहिलोपटक विश्वकपको समूह चरण पार गर्ने दबाबले सधैँ थिचिरहनेछ । क्यानडा प्रतियोगिताको समूह ‘बी’मा स्विट्जरल्यान्ड, कतार र बोस्निया हर्जगोभिनासँग परेको छ । बोस्निया हर्जगोभिना त्यही टोली हो, जसले विश्वकप स्थानका लागि भएको युरोपियन प्लेअफमा चारपटकको च्याम्पियन इटालीलाई निराश पारेको थियो । क्यानडाले समूहका सबै खेल घरेलु मैदानमा खेल्नेछ । जहाँ समर्थकको पर्याप्त साथ पाउँदा सुखद नतिजाको अपेक्षा हुनेछ ।
क्यानडा खासमा हक्कीका लागि बढी चिनिन्छ । तर, यसपालि टोली विश्व खेलकुदकै सबभन्दा ठुलो प्रतियोगिताको आयोजकमध्ये एक भइरहँदा फुटबलमा पनि विशेष छाप छोड्न चाहन्छ । क्यानडा यसअघि दुईपटक विश्वकपलाई छनोट भएको थियो । सन् १९८६ र २०२२ मा यसअघि विश्वकप खेले पनि टोली समूह चरण पार गर्न भने सफल भएको थिएन । अमेरिकी प्रशिक्षक जेसी मार्स टिमको ‘आक्रामक, आत्मविश्वासी र सशक्त’ खेल शैलीले आसन्न प्रतियोगितामा प्रभाव छाड्ने विश्वास राख्छन् ।
चार वर्षअघि कतारमा क्यानडा आफ्नो समूहको पुछारमा रहँदै घर फर्किएको थियो । तर, अल्फोन्सो डेभिसले क्रोएसियासँग ४–१ को नतिजामा पराजित भएको खेलमा एक गोल गरेका थिए । जुन फिफा विश्वकपको इतिहासमा क्यानडाको पहिलो गोल थियो । अहिले पनि क्यानडाको टिमले सबभन्दा बढी आशा गरेका खेलाडी बायर्न म्युनिखका डेभिस नै हुन् । यसैगरी, युभेन्टसका फरवार्ड जोनाथन डेभिड र साउथह्याम्पटनका काइल लारिन क्यानडाको टिमका अन्य स्टार नाम हुन् । फिफा विश्व वरीयताको ३०औँ स्थानमा रहेको क्यानडाले जुन १२ मा टोरन्टोमा बोस्निया हर्जगोभिनासँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।
१. स्विट्जरल्यान्ड
स्विट्जरल्यान्ड पछिल्ला पाँच विश्वकपमा लगातार सहभागी थियो । पछिल्ला तीन विश्वकपमा टोली नकआउट चरण पुग्न पनि सफल भयो । तर, त्यसभन्दा माथि उक्लिन भने टोली सफल भएको छैन । स्विट्जरल्यान्ड तीनपटक विश्वकपको क्वार्टरफाइनल खेलिसकेको टिम हो । तर, त्यो सन् १९५४ यता सम्भव भएको छैन । स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाका, जो इंग्लिस प्रिमियर लिगको क्लब सन्डरल्यान्डबाट व्यावसायिक फुटबल खेल्छन्, उनले राष्ट्रिय टिमका लागि १४० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । प्रशिक्षकको रूपमा पूर्वसेन्टर ब्याक मुरात याकिनले आसन्न विश्वकपमा स्विट्जरल्यान्डको नेतृत्व गर्नेछन् । उनले स्विस टिमका लागि ४९ अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
२. कतार
कतारका लागि यो विश्वकपमा दोस्रो सहभागिता हो । यसअघि सन् २०२२ मा आफैँले विश्वकप आयोजना गर्दा मध्यपूर्वको यो सानो देश विश्व फुटबलको सबभन्दा ठुलो प्रतियोगिताको हिस्सा बनेको थियो । जहाँ टोली समूह चरणबाटै बाहिरिएको थियो ।
घरेलु मैदानमा सम्पन्न चार वर्षअघिको उक्त विश्वकपमा कतारका लागि एक मात्र गोल मोहम्मद मोन्टारीले गरेका थिए । फिफा विश्व वरीयताको ५६औँ स्थानमा रहेको कतारलाई विश्वकपमा स्पेनिस प्रशिक्षक जुलेन लोप्तेगीले नेतृत्व गर्नेछन् । पूर्वगोलकिपर लोप्तेगीले वेस्ट ह्याममा ६ महिने जागिर खाएपछि कतारी टिममा जिम्मेवारी लिएका थिए । पछिल्लो दुई दशकदेखि निकै ठूलो महत्वाकांक्षाका साथ फुटबलमा लगानी गर्दै आएको कतारले चार वर्षअघि भव्य विश्वकप आयोजना गरिसकेको छ । अब भने कतारले आफ्नो राष्ट्रिय टिमलाई विश्वस्तरको बनाउने र घरेलु लिगलाई पनि बलियो पार्ने महत्वाकांक्षा बोकेको छ । यही कारण हो कतारी राष्ट्रिय टिमका सबैजसो खेलाडी देशमै व्यावसायिक फुटबल खेल्छन् ।
३. बोस्निया हर्जगोभिना
बोस्निया हर्जगोभिनाले विश्वकपको अन्तिम दुईमध्ये एक स्थान हासिल गर्ने क्रममा चारपटकको विश्व च्याम्पियन इटालीलाई पेनाल्टी सुटआउटमा हराएको थियो । मार्च ३१ मा पाएको त्यो ऐतिहासिक जितले पूरा देशभर राष्ट्रिय महोत्सवको माहोल सिर्जना गरेको थियो । स्ट्राइकर इडिन जेको बोस्नियाको फुटबल इतिहासकै सर्वोत्कृष्टमध्येका एक खेलाडी हुन् । इटालीलाई पराजित गरेको त्यो छनोटको प्लेअफमा जेकोको पाखुरामा चोट लागेको थियो ।
४० वर्षे जेको जर्मनीको साल्के ०४ बाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनी बोस्नियाका कीर्तिमानी अन्तर्राष्ट्रिय गोलकर्ता हुन् । उनले १४८ अन्तर्राष्ट्रिय खेलमा ७३ गोल गरेका छन् ।