एसियन गेम्समा भारतको बलियो टोली घोषणा

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण
  • एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्य बनाएको भारतले युवा स्टार वैभव सूर्यवंशीसहित अभिषेक शर्मा, जसप्रित बुमराह, अक्षर पटेल, ईशान किसनजस्ता सिनियर टिमबाट खेलेका अधिकांश खेलाडीलाई टिममा समावेश गरेको छ 

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको २०औँ संस्करणको एसियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । शनिबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले नयाँ कप्तान श्रेयस अङ्ढयरको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गर्यो । 

तिलक बर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको टोलीमा वैभव सूर्यवंशीले पहिलोपटक स्थान बनाएका छन् । उनी १५ वर्षमै टिममा स्थान बनाउन सफल भएका छन् । इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि सूर्यवंशी एसियाली खेलकुदसँगै इंग्ल्यान्ड र आयरल्यान्डविरुद्ध हुने टी–२० आई शृंखलामा पनि स्थान बनाएका छन् । स्वर्ण पदक जित्ने लक्ष्य बनाएको भारतले अभिषेक शर्मा, जसप्रित बुमराह, अक्षर पटेल, ईशान किसनजस्ता सिनियर टिमबाट खेलेका अधिकांश खेलाडीलाई स्थान दिएको छ । 

आगामी सेप्टेम्बरमा जापानमा हुने यस संस्करणको एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले छनोट चरण पार गरेर सहभागिता जनाउन लागेको हो । नेपालसँगै ओमान, मलेसिया र हङकङले एसिया छनोटबाट एसियाली खेलकुद खेल्ने पक्का भएको छ । यस्तै, जापानले आयोजकको नाताले सिधै प्रतियोगिता खेल्नेछ । त्यसबाहेक भारतसँगै टेस्ट राष्ट्रहरू पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै एसियाली खेलकुद खेल्नेछन् । 

१५ वर्षीय सूर्यवंशी टिममा
बिसिसिआईले कप्तान सूर्यकुमार यादवलाई कप्तानबाट हटाएर पहिलोपटक अङ्ढयरलाई कप्तानीको जिम्मेवारी दिएको छ । भारतीय राष्ट्रिय टिममा १५ वर्षीय किशोर वैभव सूर्यवंशीले पहिलोपटक स्थान बनाएका छन् । भारतीय टोलीमा भर्खरै आइपिएल च्याम्पियन टोली बेंगलुरुका भने कुनै खेलाडी समावेश रहेका छैनन् । टिममा कप्तान श्रेयशसँगै तिलक बर्मा, रवि बिस्नोई, अभिषेक शर्मा, नीतिशकुमार रेड्डी, जसप्रित बुमराह, सञ्जु स्यामसन, अक्षर पटेल, हर्षित राना, ईशान किसन, वासिङटन सुन्दर, अर्सदीप सिंह, शिभम दुवे, बरुण चक्रवर्ती र वैभव सूर्यवंशी छन् ।

राहुल र गिलको शतकमा सानदार सुरुवात
भारतले अफगानिस्तानविरुद्धको टेस्टमा सानदार सुरुवात गरेको छ । भारतको न्यु चन्दिगर टस जितेर ब्याटिङ गरेको घरेलु टोलीको लागि केएल राहुल र कप्तान शुभमन गिलले शतक बनाएका छन् । भारतले पहिलो दिनको खेल सकिँदा तीन विकेट गुमाएर ३ सय ६८ रन बनाएको छ । पहिलो दिन पाँच ओभर हुन सकेन । भारतले दोस्रो दिनको बिहानीसत्र पनि ब्याटिङ गर्ने सम्भावना छ । भारत ४ सयमाथिको लक्ष्य दिने योजनामा देखिन्छ ।

भारतका लागि कप्तान गिलले १०३ रन बनाएर खेलिरहेका छन् । उनले ११ चौका र १ छक्का हिर्काएका छन् । गिललाई क्रिजमा ५० रन बनाएर ऋषभ पन्तले साथ दिएका छन् । पन्तले २ चौका र ३ छक्का हिर्काएका छन् । त्यसअघि ओपनर राहुलले ११ चौकासहित १ सय रन बनाएर आउट भए । अर्का ओपनर यशस्वी जैसवाल २४ रन बनाएर आउट हुँदा तेस्रो नम्बर क्रिजमा आएका साई सुदर्शनले ८१ रन जोडेका थिए । दोस्रो विकेटको लागि राहुल र सुदर्शनले १३९ रन तथा चौथो विकेटका लागि पन्त र गिलले अविजित १२१ रनको साझेदारी गरिरहेका छन् । 

सुझावित समाचार