कोशीमा ज्येष्ठ नागरिक ग्राम निर्माण योजना गायब : खरिद गरेको ३२ बिघा जमिन पनि बेवारिसे, अधिकांश अतिक्रमणको चपेटामा

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले असाहय वृद्धवृद्धालाई आश्रम दिन मोरङको ग्रामथान गाउँपालिका– ७, नेताचोकमा ०७५ मै शिलान्यास गरिसकेको ज्येष्ठ नागरिक ग्रामको योजना अलपत्र बनेको छ । ज्येष्ठ नागरिकका लागि नलेज पार्क र उपचार केन्द्रसहितको सुविधासम्पन्न ग्राम बनाउन तत्कालीन सरकारले खरिद गरेको ३२ बिघा जमिन पनि बेवारिसे छ ।

बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावकविहीन सडकआश्रित मानिस र उपेक्षित ज्येष्ठ नागरिकको संरक्षणका लागि जमिन खरिद गरेर डिपिआरसमेत सम्पन्न गराई ग्राम निर्माणका लागि तीन करोड ५० लाख बजेट विनियोजन भयो । तर, शिलान्यासको आठ वर्ष बितिसक्दा पनि सरकारले ग्राम निर्माण अगाडि बढाएको छैन ।

पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार ग्रामथान गाउँपालिकासमेतको सहकार्यमा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामको गुरुयोजना पनि पूर्वमिस नेपाल शृंखला खतिवडाको टिमले नै तयार पारेको थियो । ग्रामभित्र अलग–अलग ७२ वटा घर निर्माण गर्ने गरी डिपीआर तयार गरिएको थियो । तर, राजनीतिक उतारचढावले सरकार परिवर्तन भएसँगै ०७६ मा बहुवर्षे योजनाअन्तर्गत विनियोजन भएको साढे तीन करोड बजेट पनि सामाजिक विकास मन्त्रालयले रकमान्तर गरेर खर्च गरेको थियो । 

उनकाका अनुसार ज्येष्ठ ग्राम निर्माणका लागि प्रदेश सरकार स्थापना भएको ०७४ देखि नै प्रक्रिया सुरु भएको थियो । तर, फेरिएका मन्त्रीहरूले चासो नदिँदा योजना हराउन पुगेको हो । हाल ज्येष्ठ ग्राम निर्माण गर्न प्रदेश सरकारले खरिद गरेको ३२ बिघा जमिन पनि अतिक्रमण भइसकेको छ । ‘पहिलो वर्ष कार्यदलबाट अध्ययन गराएँ, दोस्रो वर्ष जग्गा खरिद गरेर डिपिआर गराएँ । तेस्रो वर्ष बजेट विनियोजन गराएर शिलान्यास पनि गराएँ । तर, मन्त्रीबाट हटेपछि बजेट नै रकमान्तर भयो । त्यसपछि त योजनै हरायो । अहिले प्रदेश सरकारको एक मात्र लालपुर्जा भएका जमिन पनि बेवारिसे भएर अतिक्रमणको चपेटामा परिसकेको छ,’ घिमिरेले भने । 

उनका अनुसार आधुनिक ग्रामभित्र सडकमा भौँतारिने मानसिक रोगी र असाहयलाई संरक्षण गर्ने मानव सेवा आश्रम मानसिक रोगीलाई भर्ना लिएर उपचार गराउन १५ शङ्ढयाको अस्पताल पनि निर्माण गर्ने योजना थियो । 

बजेट विनियोजन गर्न गराउन ज्येष्ठ नागरिक बौद्धिक मञ्चको माग
ज्येष्ठ नागरिकको हकहितका लागि काम गर्दै आएका विराटनगरका बौद्धिक व्यक्तित्वले अलपत्र ज्येष्ठग्राम निर्माणबारे चासो दिएका छन् ।  अध्ययन प्रतिवेदनअनुसार निर्माण गर्ने भनिएको ग्रामका लागि आगामी वर्ष बजेट विनियोजन गराउन कोशी प्रदेश सरकारसँग आग्रह गरेका छन् । ज्येष्ठ नागरिक अगुवा कृष्णप्रसाद भण्डारीका अनुसार अलपत्र ग्राम निर्माण गराउन ज्येष्ठ नागरिक बौद्धिक मञ्च दबाब समूह गठन भएको छ । मञ्चले आफ्नै लालपुर्जा भएको जमिनमा ज्येष्ठ नागरिक ग्राम निर्माणका लागि आर्थिक वर्ष ०८३/८४ को बजेटमा रकम विनियोजन गर्न माग गरेको छ । ‘सरकारले लगानी भइसकेको करोडौँ रकम खेर जान दिनुहुँदैन । आगामी वर्षको बजेटमा पर्याप्त बजेट विनियोजन गरेर ज्येष्ठ नागरिक ग्राम निर्माण सुरु गराउनुपर्छ,’ भण्डारीले भने ।
 

See More On

सुझावित समाचार