प्रेरक प्रसंग : प्रिन्सिपल र हराएको घडी

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

एकपटक एउटा कलेजका एकजना विद्यार्थीले प्रिन्सिपलसित आफ्नो घडी हराएको गुनासो गर्यो । प्रिन्सिपलले बुझ्दा घडी हराएको समयमा उसको कक्षाकोठाका विद्यार्थीबाहेक कोही पस्न सम्भव देखिएन । उनले कक्षाका सबै विद्यार्थीलाई एक स्थानमा लाममा उभिन लगाएर सबैलाई आँखामा पट्टी बाँध्न लगाए । प्रिन्सिपल सबैको खल्ती छाम्दै अघि बढे । एकैछिनमा घडी भेटियो । उनले सबैको खल्ती छामिसकेपछि घडी सम्बन्धित विद्यार्थीलाई बुझाइदिए ।

घडी चोरी गर्ने विद्यार्थीको सातो गयो । अब प्रिन्सिपलले सबैलाई भनिदिन्छन्, कलेजभरि आफूले गरेको चोरीबारे सबैले थाहा पाउँछन् भनेर ऊ निकै डरायो । तर, दिनहरू बित्दै गए, यस विषयमा कसैले कुनै प्रश्न गरेन । कलेज जीवन सकियो, सबै विभिन्न काममा संलग्न भए ।

घडी चोरी गर्ने विद्यार्थी एउटा ठुलै कम्पनीको मालिक बन्यो । ऊ सफल पनि भयो । एकपटक उसलाई सम्मान गर्ने कार्यक्रम थियो । त्यहाँ कलेजका तिनै प्रिन्सिपल पनि आएका थिए । प्रिन्सिपललाई नजिक पाउनासाथ उसले भन्यो– सर, आज म जहाँ छु, त्यसका लागि तपाईंको ठुलो हात छ । यसका लागि हजुरलाई धेरै–धेरै धन्यवाद ! उसका कुरा सुन्दा प्रिन्सिपल छक्क परे । उनले त्यसको कारण सोधे । उसले भन्यो– सर हजुरले मैले घडी चोरेको थाहा पाएर पनि कसैलाई भनिदिनुभएन । मलाई सुध्रने मौका दिनुभयो । र, आज म यहाँ छु । हजुरले त्यो सब भनिदिनुभएको भए म त्यतिखेरै आत्महत्या गर्ने थिएँ । हजुरको त्यो गुन जीवनभर भुल्नेछैन सर !

प्रिन्सिपलले छक्क पर्दै प्रश्न गरे– ओहो ! त्यो विद्यार्थी तिमी थियौ, जसको पकेटमा घडी थियो ? विद्यार्थीले जवाफ दिए– हो सर, तर तपाईंले मलाई कति छिटै भुल्नुभयो ? प्रिन्सिपलले भने– तिमीहरूका आँखामा पट्टी बाँधिसकेपछि मैले पनि मेरा आँखामा पट्टी बाँधेको थिएँ । म चाहन्नथेँ, मेरो कुनै विद्यार्थी एउटा सानो गल्तीका कारण मेरो नजरबाट जीवनभर गिरोस् र अपराधबोध गरेर लज्जित भइरहोस् । 

प्रिन्सिपलका कुरा सुन्दा ती विद्यार्थीका आँखा रसाए । उनले आफ्ना प्रिन्सिपललाई जोडले अँगालो हाले ।

सुझावित समाचार