राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्रको आन्तरिक विवाद झन् चर्किएको छ। जिल्ला अधिवेशनको तयारी चलिरहेकै बेला दुई पक्षबिच विवाद बढ्दै गएर कुटाकुटको अवस्थासम्म पुगेको हो।
पर्सामा पार्टीका संस्थापक जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य हरि पन्तको नेतृत्वमा एक समूह सक्रिय छ भने प्रतिनिधिसभा सदस्यहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यको नेतृत्वमा अर्को समूह रहेको छ। पालिका अधिवेशनदेखि सुरु भएको गुटगत विवाद जिल्ला अधिवेशन नजिकिँदै जाँदा थप तीव्र बनेको बताइएको छ।
आइतबार हुने जिल्ला अधिवेशनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा शनिबार वीरगन्जस्थित गेटवे होटेलमा निर्वाचन प्रक्रिया चलिरहेकै वेला असन्तुष्ट पक्षले अधिवेशन तत्काल स्थगित गर्न माग गर्दै मधेश प्रदेश उपसभापति राधिका न्यौपाने साह कलवार तथा प्रदेश संगठन विभाग उपप्रमुख प्रमोदकुमार रायमाझीलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाउने क्रममा दुवै पक्षका कार्यकर्ता आमनेसामने भएपछि होटेलपरिसर बाहिर विवाद चर्किएको र त्यसले कुटाकुटको रूप लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
असन्तुष्ट समूहका नेता महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेल तथा क्षेत्रीय सभापति राम आर्यलगायतले जिल्ला अधिवेशनका प्रतिनिधि छनोट प्रक्रियामा सभापति पन्त पक्षले एकलौटी गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार पार्टी विधान र पद्धतिविपरीत आफ्ना निकटका व्यक्तिलाई प्रतिनिधि बनाइएको छ। उनीहरूले प्रतिनिधि छनोट प्रक्रिया पारदर्शी रूपमा सार्वजनिक गर्न, विभाग गठनसम्बन्धी निर्णय र माइन्युट सार्वजनिक गर्न तथा त्यसपछि मात्र जिल्ला अधिवेशन आयोजना गर्न माग गरेका छन्।
यता जिल्ला सभापति तथा सांसद हरि पन्तले भने प्रतिनिधि छनोट प्रक्रियामा आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरेका छन्। उनले सबै प्रक्रिया पार्टीको विधानअनुसार सम्पन्न भएको र अधिवेशन निर्धारित समयमै हुने बताएका छन्। रास्वपा पर्साभित्रको यो विवादले जिल्ला अधिवेशनको माहोल थप तनावपूर्ण बनेको छ।