वैदेशिक रोजगारीका लागि ग्रिस र जापान पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ बस्दै आएकी रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ बस्ने ३५ वर्षीया प्रिया बानियाँ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार लक्ष्मीले एकजनालाई ग्रिस पठाइदिने आश्वासन दिई ११ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन्। यस्तै, प्रियाले जापान पठाइदिने भन्दै अर्का एक पीडितबाट २ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन्।
पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले दुवैजनालाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।