वर्षाले बागमती कप टी–२० प्रभावित, शनिबारका दुवै खेल स्थगित

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारका दुवै खेल वर्षाका कारण स्थगित भएका छन्। बिहानैदेखि परेको वर्षा र त्यसपछि मैदान पूर्ण रूपमा नसुकेकाले खेल सञ्चालन गर्न नसकिएको आयोजकले जनाएको छ ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महतका अनुसार लगातारको वर्षापछि मैदान खेल्न योग्य अवस्थामा नपुगेकाले दिनभरका दुवै खेल स्थगित गर्ने निर्णय गरिएको हो। मैदान व्यवस्थापन टोलीले खेल सञ्चालनका लागि प्रयास गरे पनि आउटफिल्ड भिजेका कारण खेल खेलाउन सम्भव नभएको उनले बताए। शनिबार बिहान नुवाकोट र चितवनबिच प्रतिस्पर्धा हुने तालिका रहेको थियो भने दोस्रो खेलमा घरेलु टोली मकवानपुर र ललितपुरबिच खेल हुने कार्यक्रम तय गरिएको थियो। तर, मौसम प्रतिकूल बनेपछि दुवै खेल रद्द गरिएका हुन्।

प्रतियोगिताको नियमअनुसार खेल हुन नसकेपछि चारवटै टोलीले समान १(१ अंक बाँडेका छन्। शनिबारका खेलहरू स्थगित हुँदा अंकतालिकामा पनि केही फेरबदल भएको छ। हालसम्म चार खेल खेलेको चितवन ३ जित, १ हार र स्थगित खेलबाट प्राप्त १ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ। प्रतियोगिताको सुरुवाती चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरिरहेको चितवन उपाधिको बलियो दाबेदारका रूपमा देखिएको छ।

यस्तै, काठमाडौं ३ अंकसहित चौथो स्थानमा रहेको छ भने घरेलु टोली मकवानपुर पनि समान ३ अंकका साथ पाँचौँ स्थानमा छ। मकवानपुरले प्रतियोगितामा मिश्रित नतिजा निकालेको छ भने वर्षाका कारण स्थगित खेलबाट प्राप्त अंकले टोलीलाई अंक तालिकामा केही राहत दिएको छ। प्रतियोगितामा अहिलेसम्म जितविहीन रहेको नुवाकोट भने अंक तालिकाको पुछारमा छ। यद्यपि शनिबारको खेल स्थगित भएपछि प्राप्त एक अंकले टोलीको खातामा अंक थपिएको छ।

बागमती प्रदेशका विभिन्न जिल्लाका टोलीहरूको सहभागिता रहेको प्रतियोगितामा चितवन, ललितपुर, भक्तपुर, काठमाडौं, मकवानपुर र नुवाकोट गरी ६ टोली सहभागी छन्। समूह चरणका खेलहरू सकिँदै जाँदा सेमिफाइनल प्रवेशको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ।
 

सुझावित समाचार