दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनकालागि‘एआई एक्सरे’ मेसिनबाट संक्रमित पहिचान गर्ने गरिएको छ। तुलसीपुरका १९ वटा वडामध्ये १७ वटा वडामा ‘एआई एक्सरे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए।
उनका अनुसार तुलसीपुरको २ र १३ नम्बरमा भने अझै त्यसरी विरामी खोजिएको छैन। त्योबाहेक अन्य १७ वटा वडामा ‘एआई एक्सरे’बारे बिरामी खोजिएको उनको भनाइ छ। विभिन्न शिविरहरूमा उक्त मेसिन प्रयोग गरेर संक्रमित खोज्ने गरिएको छ। जसले चिकित्सकहरूलाई क्षयरोग पहिचान गराउन सहज भएको उनको भनाइ छ। ‘पहिले साधारण एक्सरेबाट क्षयरोग पहिचान गर्ने गरिन्थ्यो,’ उनले भने, ‘तर, अहिले एआई एक्सरेबाट रोग पहिचान गर्ने गरेका छौँ, त्यसले सहज बनाएको छ।’
एआई एक्सरेले साधारण माइक्रोस्कपी गर्दा पनि नदेखिएको क्षयरोगको संक्रमण देखाउने गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख ओमपी न्यौपानेले बताए। उनका अनुसार एआई एक्सरेमा संक्रमण देखिएमा त्यसको पुष्टिका लागि पुनः ‘जिनएक्सपर्ट’ मेसिनमा परीक्षण गरिन्छ।
जुन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको प्रमुख न्यौपानेले बताए। त्यसले पनि ‘पोजेटिभ’ देखिएमा नियमित औषधि चढाउने गरिएको उनले बताए। ‘हामीले पहिले एआई एक्सरे मेसिनबाट हेर्छौँ, त्यसपछि जिन एक्सपर्ट मेसिनमा परीक्षण गरेपछि पोजेटिभ देखिएमा उपचार सुरु गर्छौं,’ उनले भने, ‘यसरी हामीले संक्रमित पहिचान गरी उपचार गर्ने गरेका छौँ।’
संक्रमितलाई ‘डट्स’ अर्थात् प्रत्येक दिन निगरानी गरेर औषधि खुवाउने गरिएकोसमेत उनको भनाइ छ। यसरी ६ महिनासम्म प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउन गरिएको उनले बताए। तुलसीपुर उपमहानगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने अभियानअन्तर्गत यसरी क्षेयरोग संक्रमितको पहिचान गरी उपचार गर्ने गरिएको छ। हाल उक्त कार्यक्रम दोस्रो वर्षमा सञ्चालित छ। आर्थिक वर्ष २०८१/०८२ देखि तुलसीपुरमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो।
तुलसीपुर उपमहानगरपालिकाले ९७ प्रतिशत संक्रमितलाई उपचार गरिसकेकोसमेत प्रमुख न्यौपानेले बताए। चालू आर्थिक वर्षको जेठ १८ गतेसम्म तुलसीपुरमा तीन सय ५५ जना संक्रमित पहिचान गरिएको छ। १५ वर्ष मुनीका ३४ जना र १५ वर्षमाथिका तीन सय २१ जनामा क्षयरोग संक्रमण भएको पुष्टि भएको छ। प्रत्येक एक लाखमा दुई सय २७ जनामा क्षयरोग संक्रमण देखिएकोसमेत उनको भनाइ छ। हाल तुलसीपुरमा १३ डट्स केन्द्र, ४ स्थानमा टिबी माइक्रोस्कपी लागू गरिएको छ।