मध्यरातमा युवतीको हत्या, प्रायश्चित्त गर्न बिहानै मन्दिर दर्शन

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण
मध्यरातमा युवतीको हत्या, प्रायश्चित्त गर्न बिहानै मन्दिर दर्शन

तस्बिर : घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय झापाको टोली ।

झापाको दमक नगरपालिका– १० स्थित रतुवा खोलामा १६ जेठमा मृत भेटिएकी दमक– ९ की २१ वर्षीया रमा तिवारीको शारीरिक सम्पर्कका लागि पैसामा विवाद हुँदा हत्या भएको खुलेको छ। उनको हत्यामा भारत बिहारस्थित अररिया ग्रामपञ्चायत घर भई दमक– ५  बस्ने ३३ वर्षीय राकेशकुमार पण्डितको संलग्नता रहेको खुलेको हो। प्रहरीले अनुसन्धानका क्रममा दुवैजनाबिच शारीरिक सम्पर्कका लागि सहमति भएको, तर पैसामा कुरा नमिल्दा हत्याको अवस्था आएको जनाएको हो।

तिवारीको हत्या १३ जेठमा करिब ११ बजे भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तिवारीको शव भने १६ जेठमा दमक– १० स्थित रतुवा खोलामा बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो। तिवारीको शव सडेर दुर्गन्धित अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। तिवारीको दमक– ५ मा हत्या भएको र शव व्यवस्थापनका लागि करिब १५ किलोमिटर दक्षिणमा रहेको रतुवा खोलामा लगेको देखिएको प्रहरीले जनाएको छ।

हत्यामा पण्डितको संलग्नतालाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले पहिचान गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार तिवारी १३ जेठ राति घरबाट निस्किएपछि पण्डितसँग भेटघाट भएको थियो। ‘दुईजनाबिच बाटोमा भेटघाट हुन्छ। रमाले राकेशकुमारलाई यौन प्रस्ताव राखेपछि पैसाको कुरा हुन्छ। एटिएम गएर पैसा निकालेको देखिन्छ,’ उनले भनिन्, ‘त्यसपछि उनीहरू झाडीमा जान्छन्। त्यो पहिलो क्राइम सिन हो। त्यहाँ उनीहरूको झगडा हुन्छ। त्यसपछि पण्डितले घाँटी थिचेर हत्या गरेको देखिन्छ।’

मृतक तिवारी र आरोपित पण्डित अपरिचित हुन्। उनीहरूको भेटघाट दमक– ९ स्थित चियादोकान चोकमा भएको प्रहरीको भनाइ छ। त्यहीँ दुईजनाबिच शारीरिक सम्पर्कको सहमति भएको र दमक– ५ स्थित झाडीमा गएको देखिएको प्रहरीले जनाएको छ। तर, त्यहाँ पुगेपछि युवतीले सहमतिविपरीत धेरै पैसा मागेपछि विवाद उत्पन्न भएको र विवादले हत्याको अवस्था सिर्जना गरेको प्रहरीले जनाएको छ।

रमाको हत्यापछि पण्डित आफ्नो डेरामा पुगेर शव व्यवस्थापनका लागि बोरा, पाइप लिएर आएको उनले बताइन्। शव व्यवस्थापनका लागि पण्डितले मोटरसाइकलसमेत परिवर्तन गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार पण्डितले करिब १२ बजे राति रमाको शवलाई रतुवा खोलामा पुर्याएर फालेका थिए। मध्यरातमा रमाको हत्या गरेका पण्डित हत्याको प्रयाश्चित्त गर्न भोलिपल्ट अर्थात् १४ जेठको बिहानै ६ः३० बजे दमक– ६ स्थित पशुपति मन्दिर पुगेर माफी मागेको प्रहरी स्रोतको भनाइ छ। उनी मन्दिर पुगेको सिसिटिभी फुटेजमा समेत देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शव भेटिएको दिन उनी भारत पुगेका थिए। फेरि दुई दिनपछि दमक नै फर्किएको अनुसन्धानका क्रममा देखिएको छ। हत्या आरोपित पण्डितलाई बिहीबार इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको कमान्डमा खटिएको प्रहरीले उनकै डेराबाट पक्राउ गरेको थियो। उनलाई ज्यानसम्बन्धी कसुर र जबर्जस्ती करणीको कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार