रामेछापमा तीनवटा पक्की मोटरेबल पुल बन्ने

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

गत वर्ष असोजमा आएको बाढीले रामेछाप, सिन्धुली र काभ्रे जिल्ला जोड्ने तीनवटा पक्की मोटरेबल पुल बगाएपछि ती स्थानमा तत्काल बेलिब्रिज जडान गरेर हलुका सवारीसाधन पास गरिए पनि अब ती स्थानमा तीनवटा पक्की मोटरेबल पुल निर्माण हुने भएका छन्।

बाढीले सिन्धुली र रामेछाप जोड्ने मुख्य नाका खुर्कोट र खैरेनीघाटको पुल बगाएको थियो। त्यसैगरी, काभ्रे र रामेछापको सिमानामा पर्ने दोभानटारमा नयाँ मोटरेबल पुल निर्माण हुने भएको छ। यी तीनवटा पुल निर्माणका लागि डिभिजन सडक कार्यालय खाल्टेले एकैपटक ठेक्का आह्वानसमेत गरेको छ।

०८० असोज १२ गते पुल बगेपछि खुर्कोटमा तत्कालै बेलिब्रिज जडान गरेर रामेछापलाई बिपी राजमार्गसँग जोडिएको थियो। खैरेनीमा हालै केही दिनअघि मात्रै भारत सरकारले उपलब्ध गराएको बेलिब्रिज जडान गरी आवागमन सञ्चालनमा ल्याइएको छ। डिभिजन कार्यालययले खुलाएको ठेक्काअनुसार अब पुल निर्माण गर्ने स्थानको चयन, डिजाइन र लागत अनुमान स्वयं निर्माण व्यवसायीले नै गर्नुपर्नेछ।

खुर्कोटमा हाल रहेको पुलआसपासको क्षेत्रमा पुल निर्माण हुन सक्ने भए पनि खैरेनीघाटमा पहिला हालेको स्थानभन्दा केही तल बनाउन उपयुक्त हुने स्थानीयहरू बताउँछन्। उक्त पुल निर्माण गर्दा सिन्धुलीको दुम्जानजिकको टुप्पीडाँडामा एकातर्फको जग हुने गरी पुल बनाउँदा राम्रो हुने सुझाव स्थानीयले दिएको खाँडादेवी गाउँपालिकाका शिवहरि श्रेष्ठले बताए।

सुझावित समाचार