नेपाल–भारत आर्थिक सहकार्यका लागि पर्यटन, व्यापार, लगानी र कनेक्टिभिटी विस्तारमा जोड

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल–भारत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। नेपाल–भारत आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरू सहभागी कार्यक्रममा द्विपक्षीय आर्थिक सम्बन्धका विषयमा गहन छलफल भएको हो।

भारतको गोरखपुरमा भएको कार्यक्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, भैरहवा विशेष आर्थिक क्षेत्र सेजमा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने र रेलवे कनेक्टिभिटी विस्तारलाई विशेष जोड दिनुपर्ने निष्कर्ष निकालिएको नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले जानकारी दिए।

कार्यक्रममा एआई प्रविधि, डिजिटल भुक्तानी, सीमापार व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदको प्रवर्द्धनसँगै सुरक्षा चुनौती न्यूनीकरण र भारतीय विशाल बजारमा नेपाली साना उत्पादकहरूले निर्यातका क्रममा भोग्नुपरेका बाधाहरूप्रति पनि छलफल भएको र आगामी दिनमा नीतिगत सरलीकरण र सहज बजार पहुँचका लागि जोड दिइएको थियो।

भारतको गोरखपुरमा पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिज तथा भारतीय दूतावासको सहकार्यमा आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ अन्तर्गत भएको राउन्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारतबिचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।

विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबिच थप सहकार्यको आवश्यकता औँल्याइएको छ। त्यस्तै लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किटको प्रवर्द्धन गर्न सके दक्षिण एसियाकै महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने कुरा राखेको पोखरेलले बताए।

भैरहवास्थित विशेष आर्थिक क्षेत्र सेजमा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेदेखि सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन र निर्यात प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्ने विषय पनि उठाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका कृष्णप्रसाद शर्माले नेपाल–भारत आर्थिक सम्बन्धबारे चर्चा गरेका थिए।  भारत–नेपाल केन्द्र, पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजद्वारा आयोजित कार्यक्रममा अतुलकुमार ठाकुर, भारत–नेपाल केन्द्र, पिएचडी चेम्बरका को–चेयर कामलेश जैन, भारतस्थित नेपाली दूतावासका तारानाथ अधिकारी र आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापालगायतले भारत–नेपाल आर्थिक सम्बन्ध सुदृढीकरण र सहकार्य विस्तारमा जोड दिएका थिए।
 

सुझावित समाचार