बजेटको चुनौती भोग्दै मनमोहन प्राविधिक विश्वविद्यालय

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

कोशी सरकारले ०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई शैक्षिक प्रगतिमा सीमित बजेट चुनौती बन्दै आइरहेको छ । मोरङको बुढीगंगा– ४, हात्तीमुढामा  २१ बिघाको परिसरमा तीस अर्बभन्दा बढीको आधुनिक पूर्वाधारसहितको केन्द्रीय कार्यालय रहेको देशकै मनमोहन प्राविधिक विश्वविद्यालयलाई कोशी प्रदेश सरकारले उपेक्षा गरिदिँदा शैक्षिक प्रगतिमा बजेट चुनौती बन्दै आइरहेको हो । 

स्थापनाको छोटो समयमा देशमा गुणस्तरीय पढाइका लागि सफल विश्वविद्यालयको रूपमा चिनिन थालेको मनमोहनले अपेक्षाअनुसारको बजेट प्राप्त गर्न नसक्दा चाहनअनुसार शैक्षिक गतिविधि अगाडि बढाउन सकिरहेको छैन । आफ्नो रणनीति समुद्रजस्तै फराकिलो बनाएको मनमोहन बजेट अभावले प्रदेशको पोखरीमै मात्र सीमित भइरहेको छ ।  

कोशी प्रदेश सरकारले ०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले दुई वर्षभित्रै आवश्यक कानुन निर्माण गरेर ०७८ देखि उच्च प्राविधिक शिक्षामा  स्नातक र स्नातकोत्तर तहमा विभिन्न संकायमार्फत  पढाइ सुरु गरिरहेको छ । १० वर्षभित्र दक्षिण एसियामा चिनिने रणनीति बनाएर अगाडि बढेको मनमोहनलाई बजेटको सीमितता बाधक बनिरहेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल बताउँछन् ।

उनका अनुसार आगामी वर्षका लागि संघीय सरकाले प्रदेशलाई प्रदान गर्ने अनुदानको आकार पनि बढाएको छ । यसैले कोशी प्रदेशले बढेको अनुदानलाई दक्ष उच्च जनशक्ति उत्पादन गराउन आफ्नो प्राविधिक विश्वविद्यालयमा खर्च गर्ने सोच लिनुपर्ने मनमोहनको माग छ ।  

उपकुलपति पोखरेलका अनुसार आधारभूत, मध्यमस्तर र उच्चस्तरको जनशक्ति उत्पादन गर्दै आएको विश्वविद्यालय बनेर स्थापनाको दश वर्षभित्र दक्षिण एसियामा पहिचान बनाउन सफल हुने आत्मविश्वास मनमोहनले लिएको छ । तर, कोशी प्रदेश सरकारले विनियोजन गर्ने गरेको करिब १५ करोड बजेटले जेनतेन प्रशासनिक खर्च मात्रै धान्ने भएकोले कार्यक्रम थप गर्न र अनुसन्धानशाला, प्रयोगशाला र  शैक्षिक कार्यक्रम र भवनहरू थप गर्न विश्वविद्यालयलाई समस्या छ । 

स्थापनादेखि नै भ्यागुतोजस्तै उफ्रेर आफ्नो दशवर्षे रणनीति सफल बनाएरै छाड्ने लक्ष्य लिएको यो विश्वविद्यालयको अवस्थाचाहिँ  बजेटको सीमितताले गर्दा भ्यागुतोजस्तो उफ्रने लक्ष्य लिएर पनि सर्पजस्तै घस्रिएर शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिरहनुपरेको छ । 

सुझावित समाचार