नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा नाै कर्मचारी भर्ना

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निर्देशनविपरीत नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरेको पाइएको छ। अस्पतालले दैनिक ज्यालादारीमा नाै कर्मचारीलाई ०८३ वैशाख १५ गते नियुक्ति दिएको पाइएको हो।

अस्पतालको स्टाफ नर्स पाँचौँ तहमा अर्चना शर्मा, रिन्कु चौरसिया, नेहा सर्राफ र पुष्पाकुमारी साह तथा एनेस्थेसिया सहायकमा उमेशकुमार कुसवाहा, अजय साह र अर्जुन बैठालाई नियुक्त गरिएको छ।

अपरेसन सहायकमा अनिलकुमार पटेल र कार्यालय सहयोगीमा अनिताकुमारी तेलीलाई भर्ना गरिएको अस्पतालको प्रशासन शाखाको अभिलेखमा देखिन्छ। सरकारले अहिले कुनै पनि प्रकारको कर्मचारी नियुक्ति नगर्न निर्देशन दिए पनि कर्मचारी भर्ना नरोकिएको फेला परेको हो।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहले अहिले आवश्यकताविना नै आफ्ना निकटका कर्मचारीहरूलाई दैनिक ज्यालादारीमा भर्ना गरेको कर्मचारीहरूको आरोप छ। प्रशासन शाखाका एक कर्मचारीका अनुसार अस्पतालमा अपरेसन सहायकमा भर्ना भएका अनिल मेसु डा. साहको निजी अस्पताल सर्वोत्तम अस्पतालका कर्मचारी हुन्। नारायणी अस्पतालमा प्रत्येक शुक्रबार मात्र हाजिर हुने अनिल मेडिकल सुपरिटेन्डेन्टको अस्पतालमा उनको सहायकको रूपमा खटिने गरेका छन्।

अस्पतालका मेसु डा. साहले भर्ना भएका कर्मचारीलाई आमा सुरक्षाको रकमबाट तलब दिने गरी भर्ना गरिएको बताए। भर्ना भएका कर्मचारीलाई अस्पतालको विकास समितिबाट नभएर उक्त कार्यक्रमबाट तलब र भत्ता खुवाइने उनको भनाइ छ।

सुझावित समाचार