महोत्तरीमा विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। डिभिजन वन कार्यालय महोत्तरीले वृक्षरोपण तथा सरसफाइ तथा स्वास्थ्य निर्देशनालय मधेश प्रदेश र स्वास्थ्य कार्यालय महोत्तरीले प्रभातफेरी कार्यक्रम सञ्चालन गरी दिवस मनाएका हुन् । दुई कार्यक्रमको माध्यमले वातावरण संरक्षणको सन्देश प्रवाह गरिएको छ ।
डिभिजन वन कार्यालय जलेश्वरको आयोजनामा जलेश्वर नगरपालिका– ९, प्रकौलीस्थित श्री जानकी परीक्षण माध्यमिक विद्यालयपरिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम डिएफओ अजयकुमार मिश्रको नेतृत्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रकौलीस्थित गोरखनाथ गण, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरूसहित गोरखनाथ गण प्रकौलीको सेनाको टोलीले समेत सहभागिता जनाएका थिए ।
यता कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षरोपणको महत्त्वबारे चर्चा गरेका थिए । सो अवसरमा विद्यालयपरिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
यस्तै, स्वास्थ्य निर्देशनालय मधेश प्रदेश, सपही धनुषा र स्वास्थ्य कार्यालय महोत्तरीको संयुक्त आयोजनामा जलेश्वरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ भन्ने सन्देश बोकेको प्रभातफेरीमा स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रभातफेरी कार्यक्रमको नेतृत्व स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपानेले गरेका थिए ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित यी कार्यक्रमहरूले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।