२०औँ एसियन क्रिकेट छनोट : सिंगापुरमा भुर्तेलको कीर्तिमानी प्रदर्शन

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण
  • टी–२० आईमा लगातार दुई खेलमा शतकीय इनिङ्स खेल्ने पहिलो नेपाली खेलाडी बनेका कुशल भुर्तेलले मलेसियाविरुद्ध ५४ बलमा १२६ रन जोडे

अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट लले प्रारम्भिक तीन अन्तर्राष्ट्रिय खेलमा ओपनर कुशल भुर्तेललाई बाहिर राखेका थिए । खराब फर्ममा चलिरहँदा र नयाँ खेलाडीलाई मौका दिने उद्देश्यले प्रशिक्षक स्टुवार्टले भुर्तेललाई राष्ट्रिय टोलीमा मौका दिएनन् । तर, उनै प्रशिक्षकले ओपनिङमा अनुभवी खेलाडीको आवश्यकता महसुस गरे । त्यसपछि आइसिसी विश्वकप लिग २ मा भुर्तेललाई स्थान दिए । राष्ट्रिय टोलीमा भुर्तेलले उत्कृष्ट पुनरागमन गरे ।

तीन साताको अवधिमा उनले तीनवटा शतकीय इनिङ्स खेले । उनले विश्वकप लिग २ मा अमेरिकाविरुद्ध एकदिवसीय सिरिज तथा सिंगापुरमा चलिरहेको २०औँ एसियन खेलकुद प्रतियोगिताको छनोटमा लगातार दुई खेलमा कीर्तिमानी शतक लगाएका छन् । सिंगापुरमा भुर्तेलले बिहीबार मलेसियाविरुद्ध ५४ बलमा १२६ रनको योगदान दिँदा नेपाल १६७ रनले विजयी भयो । जितसँगै नेपाल समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’को उपविजेतासँग आइतबार खेल्नेछ । यद्यपि, समूह ‘बी’मा ओमान र हङकङ सेमिफाइनल पुगे पनि विजेता टुंगो लाग्न बाँकी छ ।

टी–२० आईमा लगातार दोस्रो शतक
टी–२० आई फर्म्याटमा भुर्तेल लगातार दुई खेलमा शतकीय इनिङ्स खेल्ने नेपालका पहिलो खेलाडी बनेका छन् । समग्रमा विश्व क्रिकेटमा यस्तो सफलता प्राप्त गर्ने उनी नवौँ खेलाडी हुन् । सिंगापुरविरुद्ध उनले ५४ बलमा १४ चौका र आठ छक्का प्रहार गरेका थिए । उनले नेपालका लागि टी–२० आईमा १०७ छक्का तथा २०९ चौका पूरा गर्ने पहिलो खेलाडीका रूपमा आफूलाई उभ्याएका छन् । उनले ६८ टी–२० आईमध्ये ७६ इनिङ्समा एक हजार ६४७ बलको सामना गरेका छन् ।

भुर्तेलले करिअरमा १३६ स्ट्राइकमा ब्याटिङ गर्दै १४ पटक अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले यस फर्म्याटमा ३१ विकेट पनि लिएका छन् । उनले छनोट खेलअन्तर्गत पहिलो खेलमा चीनविरुद्ध पनि शतक लगाएका थिए । सो खेलमा उनले कीर्तिमानी रूपमा ४३ बलमा सर्वाधिक १६ छक्का र पाँच चौका प्रहार गरेका थिए । भुर्तेलले सन् २०२२ मा ओमानमा भएको विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध पहिले टी–२० आई शतक बनाएका थिए । उनको पहिलो एकदिवसीय शतक सन् २०२३ मा नामिबियाविरुद्ध थियो । गत वैशाखमा उनले विश्वकप लिग २ मा त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्ध अविजित १२० रन बनाएका थिए ।

मलेसिया १६७ रनले पराजित
नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर २७५ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा मलेसियाले २० ओभरमा नौ विकेट गुमाएर १०८ रन बनायो । यसअघि नेपालको बलियो योगफल खडा हुनुका पछाडि ओपनर भुर्तेल र आसिफ शेखबिच पहिलो विकेटको शतकीय साझेदारी थियो । दुवैले पहिलो विकेटका लागि ८.४ ओभरमा १३४ रन बनाएका थिए । शेखले २४ बलमा सात छक्का र पाँच चौकाको सहयोगमा ६८ रनको योगदान दिए । दुवैले पहिलो विकेटका लागि ५४ बल खेलेका थिए । भुर्तेलले कप्तान दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै टोलीलाई १६.१ ओभरमा २३१/३ को बलियो स्थितिमा राखे । दीपेन्द्रले ११ बलमा चार छक्का र एक चौकाको सहयोगमा ३१ रन बनाए । भुर्तेल इनिङ्सको १८.४ ओभरमा आउट भएका थिए । उनले २५ बलमा ५० तथा ४४ बलमा शतक लगाए । नेपालको इनिङ्समा ब्याट्सम्यानले २२ छक्का प्रहार गरेका थिए ।

मलेसियालाई रोक्ने क्रममा नेपालका शेर मल्लले घातक बलिङ गरेका थिए । उनले चार ओभरमा १४ रन खर्चेर तीन विकेट लिए । यसैगरी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह र कुशल मल्लले समान एक विकेट लिए । मलेसियाको ब्याटिङमा कप्तान सेयाद अजिजले ४५ बलमा ५४ रन बनाए ।

क्यानले भुटानसँग माग्यो माफी

  • खेलको नियम भए पनि नेपाली खेलाडीले खेलभावनाविपरीत टाइम आउट अपिल गरेको क्यानको भनाइ 

नेपाली राष्ट्रिय महिला टोलीले बिहीबार मलेसियामा एसिसी प्रिमियर कपमा भुटानविरुद्ध ‘टाइम आउट’ लियो । महिला खेलाडीले आइसिसीको नियमअनुसारै टाइम आउट अपिल गरेका हुन् । खेलाडीको यस्तो अपिल अहिले विवादित बनेको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपालको यो अपिल खेलभावनाविपरीत भएको जनाउँदै भुटानी खेलाडीसँग माफी मागेका छन् । ‘नियमले त्यो सही भए पनि क्रिकेट खेलको भावना त्योभन्दा धेरै माथि छ,’ खड्काले भनेका छन्, ‘एउटा विकासशील क्रिकेट राष्ट्रको हिसाबले हामी स्पोर्टसम्यानसिप स्पिरिट, आपसी समझदारी र फेयर प्लेमा विश्वास गर्छौँ । यो घटनाले त्यसमा क्षय पुग्न गएकोमा दुःखी छौँ ।’

नेपालले भुटानकी खेलाडी रिट्सी छोडेनलाई ‘टाइम आउट’को माध्यमबाट आउट गरिदिएको थियो । नेपालविरुद्ध ब्याटिङ गर्न आएको भुटानले खेलको पहिलो बलमै विकेट गुमाएको थियो । नेपालकी कविता कुँवरले भुटानकी ओपनर नगवान छोडेनलाई पहिलो बलमै बोल्ड गरेकी थिइन् । त्यसपछि अर्की खेलाडी रिट्सी छोडेनले मैदानमा प्रवेश गर्न ढिलो गरिन् ।

अन्तर्राष्ट्रिय क्रिकेटको नियमअनुसार एक खेलाडी आउट भएपछि अर्को खेलाडीले प्राविधिक वा विशेष कारणबाहेक टी–२० खेलमा ९० सेकेन्डभित्र क्रिजमा उपस्थित हुनुपर्छ । त्योभन्दा बढी समय लगाए विपक्षीले टाइम आउटको अपिल गर्न सक्छ । यो अपिल विपक्षी टोलीमा भर पर्छ । तर, भुटानी खेलाडी रिट्सी छोडेनले क्रिजमा आउन ढिला गरेपछि नेपालले टाइम आउटको अपिल गर्‍यो । त्यसपछि अम्पायरले छोडेनलाई टाइम आउट गरिदिए ।

टाइम आउट क्रिकेटमा पहिलो होइन । यसअघि पनि दुईपटक यस्ता घटना भइसकेका छन् । २०२३ को एकदिवसीय विश्वकपमा श्रीलंका र बंगलादेशबिचको खेल निकै विवादास्पद बनेको थियो । विश्वकपमा श्रीलंकाका एन्जेलो म्याथ्युजविरुद्ध बंगलादेशी खेलाडीले टाइम आउट अपिल गरेका थिए । घानाका ब्याट्सम्यान गडफ्रेड एनिफीसँग पनि यस्तै घटना २०२३ मा जोडिएको थियो । यो खेल सिएरा लियोनविरुद्धको थियो ।

नेपाल क्वार्टरफाइनलमा
एसिसी प्रिमियर कपमा दोस्रो जित निकाल्दै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नेपालले भुटानलाई ५१ रनले पराजित गर्‍यो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो । नेपालले २० ओभरमा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । भुटानले २० ओभरमा आठ विकेट गुमाएर ६२ रन मात्रै बनायो । भुटानका लागि देन्छी वाग्मोले ६० बलमा सर्वाधिक ३९ रन जोडिन् । नेपालका लागि रुविना क्षेत्रीले तीन र रिया शर्माले दुई विकेट लिएका थिए । नेपालका लागि सीता रानामगरले २८ बलमा सर्वाधिक ३७ रन बनाइन् । 

See More On

सुझावित समाचार