विराटनगर पूर्ण खोप सुनिश्चित महानगरपालिका

विराटनगर महानगरका १९ वटै वडाका ११ हजार ६३० जना बालबालिकाले पाए खोप

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

विराटनगर महानगरपालिकाले सबै वडामा पूर्ण खोप सुनिश्चितताको लक्ष्यमा रहेका बालबालिकालाई खोप प्रदान गरेको छ ।  १९ वटै वडामा पूर्ण खोप सुनिश्चितताको लक्ष्यमा रहेका  ११ हजार ६३० बालबालिकालाई  महानगरपालिकाले खोप प्रदान गरेको हो ।  

विराटनगर महानगरपालिकाले बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको दाबी गरेको छ । 

महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ११ महिनाका दुई हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका एक  हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्।

विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितताको लक्ष्य प्राप्त गर्न सफल भएपछि बुधबार दिगोपना कार्यक्रमअन्तर्गत मेयर नागेश कोइरालाले सबै वडा कार्यालयलाई  प्रमाणपत्र पनि प्रदान गरे। उनले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्रै अन्तिम लक्ष्य नभएर  दिगोपना कायम राख्नु अझ महत्त्वपूर्ण चुनौती रहेको भन्दै सतर्क रहेर चासो दिन आग्रह गरे।  

वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार महानगरले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनमार्फत विराटनगर महानगरपालिकाले उल्लेखनीय सफलता हासिल गरेको हो । खोप संयोजक सुशील साहले स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकबिचको समन्वयले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न महानगरपालिका सफल भएको बताए।

स्वास्थ्यकर्मीहरूका अनुसार पूर्ण खोप कार्यक्रमले बालबालिकालाई दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी, टिटानसलगायतका रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।  
 
 

सुझावित समाचार