नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाएका छन्।
नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपतिले संविधानको रक्षक तथा पालकको भूमिकाअनुसार काम नगरेको दाबी गरे। उनले राष्ट्रपतिले गर्न नहुने कार्यहरूमा समेत हस्ताक्षर गर्दै गएको आरोप लगाए।
ओलीले विगतका राजनीतिक घटनाक्रम स्मरण गर्दै संविधानविपरीत प्रतिनिधिसभा विघटन भएको प्रसंग उल्लेख गरे। उनले लोकतन्त्र जोगाएको दाबी गरिए पनि व्यवहारमा लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने काम भइरहेको टिप्पणी गरे।
‘सम्मानित संस्थाका बारेमा बोल्न मन थिएन, तर बडो जुक्तिका साथ लोकतन्त्रलाई एकपछि अर्को कदमबाट समाप्त पार्ने काम भइरहेको छ,’ ओलीले भने।
उनले नेकपा एमाले देश, जनता, लोकतन्त्र, शान्ति र सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रिक संस्थाहरूको संरक्षण आवश्यक रहेको बताए।