खर्च हुनै सकेन कोशीमा पर्यटन प्रवर्द्धन गर्न छुट्याएको बजेट

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८२/८३ लाई कोशी पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको थियो । भव्य कार्यक्रमबिच भ्रमण वर्षको उद्घाटन पनि भयो । तर, छुट्याइएको बजेट पनि खर्च गर्न नसकेपछि पर्यटनका ४० कार्यक्रममा १० वटा पनि हुन सकेनन् । असफल भएको चालू आवको पर्यटन वर्षको समीक्षा नगरी नयाँ भ्रमण वर्षका रूपमा कोशी सरकारले पुनः नीति तथा कार्यक्रम ल्याएको छ । 

आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रममा ०८३ साउनदेखि ०८५ असारसम्मलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’का रूपमा मनाइने उल्लेख गरिएको छ । भ्रमण वर्ष मनाउन आन्तरिक, अन्तरप्रदेश तथा विदेशी पर्यटकलक्षित गतिविधि गरिने कार्यक्रममा उल्लेख छ । 

पर्यटन प्रवर्द्धनका लागि चालू आर्थिक वर्षमा ५० करोड चार लाख बजेट विनियोजन भएको थियो । तर, पर्यटन वर्षका लागि मात्रै होइन, समग्र कोशीको पर्यटन प्रवर्द्धनका लागि चालू आर्थिक वर्षमा वैशाख मसान्तसम्म छुट्याइएको रकमको २१ दशमलव ५१ प्रतिशत मात्रै खर्च भएको मन्त्रालयको तथ्यांक छ । १० महिनामा १० करोड आठ लाख ४१ हजार पाँच सय ४९ मात्रै बजेट खर्च भएको छ । पर्यटन प्रवर्द्धनका लागि छुट्याइएको ४० शीर्षकमध्ये १० शीर्षकमा मात्रै खर्च भएको छ । मन्त्रालयका अनुसार कोशी पर्यटन वर्षका लागि ८८ लाख ४० हजार विनियोजन भएकोमा ४८ लाख ९० हजार खर्च भएको छ । यस्तै, टिटिडिपी परियोजना व्यवस्थापनमा सात लाख १० हजार छुट्टिएको भए पनि हालसम्म खर्च ९४ हजार नौ सय ९९ मात्रै बजेट खर्च भएको छ । पर्यटन प्रवर्द्धनका लागि प्रचार सामग्री उत्पादन र वितरण २० लाख छुट्याइएकोमा दुई लाख ९५ हजार खर्च भएको मन्त्रालयले जनाएको छ । यस्तै, उपहारजन्य सामग्री छपाइ खरिद तथा उत्पादनमा छुटिएको पाँच लाखमध्ये तीन लाख ३५ हजार, एक सय ४६ खर्च भएको छ । विभिन्न स्थानीय राष्ट्रिय, अन्तर्राष्ट्रिय मेला, पर्यटन मार्ट र महोत्सवहरूका सहगगिताका लागि छुट्याएको ८० लाखमध्ये खर्च २३ लाख ९७ हजार चा सय २२ रुपैयाँ खर्च भएको छ । पर्यटनसम्बद्ध विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था तथा व्यक्तिसँग बैठक–अन्तर्क्रियाका लागि छुट्याइएको पाँच लाखमध्ये २७ हजार मात्रै खर्च भएको देखिएको छ । कोशी पर्यटन प्रवर्द्धनका जिल्लागत विविध कार्यक्रम सञ्चालनमा छुट्याइएको ३२ लाखमध्ये १८ लाख खर्च भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रममा प्रायोजन–सहयोग–सहकार्यका लागि छुट्याइएको ३० लाखमध्ये पाँच लाख ९३ हजार आठ सय २९ खर्च भएको छ । पर्यटन प्रवर्द्धनमा युवा स्वयंसेवक परिचालनमा छुट्याइएको १० लाखमध्ये २५ हजार सात सय ४० रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । 

बजेट विनियोजन गरे पनि कार्यन्वयन गर्ने सरकारी संयन्त्र गठन गर्ने, पर्यटनजन्य कार्यक्रम कार्यान्वयन गर्ने निकाय सीमित हुँदा उपलब्धि हासिल हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ । पर्यटन क्षेत्रको पूर्वाधारतर्फ पर्यटन पूर्वाधार विकास आयोजना विराटनगर छ, जसले कोशी प्रदेशका १४ वटै जिल्लालाई हेर्छ । प्रवर्द्धनतर्फ साबिक मेचीका चारवटा जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ पर्यटन कार्यालय काँकडभिट्टा र साबिकको कोशी र सगरमाथाको पर्यटन धरानले हेर्ने गर्छ । 

कोशी प्रदेशसँग खर्च गर्ने संयन्त्र र सार्वजनिक खरिद ऐनका कारण पर्यटनको क्षेत्रमा खर्च हुन नसकेको कोशी प्रदेश सरकारले पर्यटन वर्ष मनाउन बनाएको निर्देशक समिति सहसंयोजक भविषकुमार श्रेष्ठ बताउँछन् । ‘पर्यटन वर्ष मनाउन बजेट विनियोजन भयो । तर, खर्च गर्ने मेकानिजम रहेनछ । खर्च गर्ने प्रक्रिया नीतिले समस्या बनायो । सार्वजनिक खरिद ऐनले पनि समस्या बनायो । मन्त्रालयको प्रक्रिया झन्झटिलो हुने रहेछ । प्रदेशकै मन्त्रालयबिचमा समन्वय अभाव रहेछ,’ उनी भन्छन्, ‘कर्मचारीमा पनि आलटाल गर्ने समस्याले गर्दा खर्च नै हुन सकेन । पर्यटन प्रवर्द्धनका सवालमा संघ र प्रदेश सरकारबिच समन्वय छैन । केही काम त भयो । तर, सेचेजस्तो हुन सकेन ।’ प्रदेश सरकारले भारत गएर प्रचार गर्न नपाउँदा पनि समस्या भएको उनको भनाइ छ । यद्यपि पर्यटन वर्षमा कोशीमा रहेका होमस्टे, होटेललगायतको पहिचान भएको उनले बताए । 

प्रदेश सरकारले पर्यटनको पूर्वाधार निर्माण नगरी बजेट कनिका छरेजस्तो गर्दा पनि पर्यटन प्रवर्द्धनमा समस्या भएको नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स एजेन्ट कोशीका अध्यक्ष पुण्यप्रसाद भट्टराई बताउँछन् ।

सुझावित समाचार